काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आगामी भदौ २३ गते शुक्रबार विशेष साधारणसभा आह्वान गरेको छ । 

भदौ ४ गते बसेको बैंक संचालक समितिको २३९ औं बैठकले काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स प्रालिमा विशेष साधारणसभा आह्वान गरेको हो । 

बैंकले शुक्रबार प्रकाशित गरेको एक सूचना अनुसार अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमीटेडलाई प्राप्तिको विशेष प्रस्ताव पारित गर्न साधारणसभा बोलाइएको हो । 

यो बैंकले अल्पाइनलाई १००: ९३ र सेतीलाई १०० बराबर ७० को सेयर स्वाप रेसियोमा गाभ्ने प्रस्ताव समेत साधारणसभामा विशेष प्रस्तावको रुपमा पेश गर्नेछ । 

अल्पाइन र सेतीको प्राप्तिपछि सम्झौतापत्र अनुसार बैंकको जारी तथा चुक्तापूँजी वृद्धि हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न, हेरफेर गर्न र उपयुक्त व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव समेत साधारणसभाले पारित गर्नेछ ।

यो बैंकले साउन १६ गतेदेखि खुलाएको ४० प्रतिशत हकप्रदका लागि आवेदन दिने अन्तिम दिने भदौ १८ गते हो । हकप्रदको बिक्रीपछि हाल ४ अर्ब ७१ करोडमा सीमित चुक्तापूँजी बढेर ६ अर्ब ५९ करोड पुुग्नेछ । अल्पाइन र सेतीलाई गाभेर आर्थिक वर्ष २०७३/७४ को नाफाबाट केही बोनस सेयर समेत दिई यो बैंकले ८ अर्ब पूँजी पुुर्याउने योजना बनाएको छ ।