काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ७ करोड ४२ लाख खूद नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिमा १० करोड ५७ लाख नाफा कमाएको हो । 

नाफामा ३ करोड बढीको प्रगति गरे पनि ब्याज खर्चमा भएको अचाक्ली वृद्धिले इपीएसमा खासै सुधार हुन सकेन । समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर आम्दानी(इपीएस) ७ रुपैयाँ ७५ पैसा रह्यो । 

बैंकले व्यवसाय बिस्तारमा जोड दिएका कारण खूद ब्याज आम्दानी ३३ करोड १९ लाख आर्जन भयो । अघिल्लो वर्ष यस्तो आम्दानी २१ करोड ८१ लाखमा सीमित थियो । बैंकको अघिल्लो वर्षको ब्याज खर्च ३२ करोड ४७ लाख रहेकोमा बढेर ९३ करोड ८ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले ४५ अर्ब ३५ करोड निक्षेप संकलन गरी ४० अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३१ अर्ब ६८ करोड निक्षेप संकलन गरी २७ अर्ब ५९ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले आफ्नो रिजर्ब कोषलाई निकै मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ६० करोड ६९ लाख रहेको रिजर्ब कोष बढेर १ अर्ब २२ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ०.३३ प्रतिशत रहेको खराब कर्जा बढेर १.७० प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष ८.८१ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल ६.४३ प्रतिशतमा झरेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२२.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.१७ गुणा कायम भएको छ ।