काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औँ स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थितिमा परिसर कार्यालयमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई हस्तान्तरण गरेका हुन्। 

उक्त कार्यक्रममा सेञ्चुरी बैंकका बागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाँणको पनि उपस्थिति थियो। 

सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सीमा नाका तथा प्रहरी चेक प्वइन्टहरुसमेतमा सीसीटीभी क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनीकरण गर्न सहयोग पुग्ने बताए। 

यसैगरी बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रेको धुलिखेलस्थित ज्येष्ठ नागरिक सेवा केन्द्रलाई एक दर्जन कुर्सी, दुईवटा टेबल र एक थान दराजलगायतका फर्निचर सामान प्रदान गरेको छ। 

ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता थियो। 

उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाइसमेत गरेको थियो। 

सेञ्चुरी बैंकले काभ्रेमा ७ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।