काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बैठकले विगत १० महिनादेखि कामु सीईओका रुपमा कार्यरत न्यौपानेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। तत्कालीन सीईओ तुलसीप्रसाद गौतमले कार्यकाल पूरा नहुँदै राजीनामा गरेपछि बैंकले न्यौपानेलाई कामु सीईओ जिम्मेवारी दिएको थियो।

कामु सीईओका रुपमा काम थालेदेखि न्यौपानेको नेतृत्व बैंकको वित्तीय अवस्था सुधार्न उल्लेख्य काम गरेका कारण यसको उच्च मूल्यांकन गर्दै न्यौपानेलाई सीईओ दिन निर्णय गरिएको एक सञ्चालकले बताए। 

न्यौपानेले सीईओको जिम्मेवारी पाएसँगै सेञ्चुरी बैंक तत्काल अन्य बैंकसँग मर्जरमा जाने सम्भावना न्यून देखिएको छ।

सेञ्चुरी बैंकले लामो समयसम्म माछापुच्छ्रे बैंक र प्रभु बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो। तर, ती दुवै बैंकसँगको कुराकानी निष्कर्षमा नपुगेपछि आफैँ अगाडि बढ्ने उद्देश्यले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिइएको ती सञ्चालकले बताए।