काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा प्रारम्भ गरेका हुन्। बैंकले एकैदिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिकास्थित लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो। बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्ति, उद्यमी व्यवसायी, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख सञ्चालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयको उपस्थिति थियो।   

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ। उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो। बैंक पहिलोपटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ।    

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। थप ३ शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।