काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंकले यही वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरमा कुल २२ लाख इकाइ भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र जारी गर्न लागेको हो। कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। जसमा १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम ८ लाख ७० हजार इकाइसम्म आवेदन दिन पाउनेछन्। ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ। 

सेन्चुरी बैंकको यो १० वर्ष अवधिको ऋणपत्र हो। यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।