काठमाण्डौ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जारी गर्ने विज्ञप्ति समेत सार्वजनिक हुनु केही दिनअघि नै चुहिएको देखिएको छ ।

यसबाट बोर्डले आज सार्वजनिक गरेको विज्ञप्ति केही दिनअघि नै तयार भइसकेको र उपयुक्त समय हेरेर त्यो सार्वजनिक गरिएको देखिन्छ । 

आज धितोपत्र बोर्डले नियमित कारोबार समय बन्द भएपछि करिब ४ बजे हल्ला र अनुमानका पछाडि नलागी सजगतापूर्वक लगानी गर्न एक विज्ञप्तिमार्फत आम लगानीकर्ताहरुलाई आह्वान गरेको हो । बोर्डले गराएको आह्वान सही नै भए पनि यसभित्रको नियत भने शंकास्पद देखिएको छ । 

आज सार्वजनिक गरिएको यो सूचना आइतबार नै तयार पारिएको थियो । बोर्डले बनाएको विज्ञप्ति २ दिनअघि नै केही ठूला लगानीकर्ता, लगानीकर्ताको समूह र केही ब्रोकरहरुसम्म पुगिसकेको थियो  ।

सामाजिक सञ्जालमा अहिले यो विषयमा जानकार कतिपय लगानीकर्ताले 'अस्ती नै आउनुपर्ने विज्ञप्ति आज किन आयो' भनेर प्रश्न गरिरहेका छन् । 

केही टाठाबाठा लगानीकर्ताहरु मात्र बोर्डको विज्ञप्ति बारे जानकार थिएनन्, यस विषयमा स्टक ब्रोकरहरुले समेत थाहा पाइसकेका थिए र ब्रोकर निकटका केही लगानीकर्तालाई अब बजार घट्छ भन्दै सेयर खरिद गर्न रोकेका थिए ।

पूँजीबजारलाई अर्थतन्त्रकै मेरुदण्ड मानिन्छ र विश्वका कतिपय देशका प्रमुख व्यक्ति(राष्ट्रपति प्रधानमन्त्री)ले सेयर बजारको परिसूचक बढेकोमा खुशीयाली मनाउँदै ट्वीट गर्छन्, ताकि लगानीकर्ताहरुको मनोबल थप बलियो बनोस् र राज्यको पनि साथ रहेको सन्देश दिन सकियोस् । 
तर, नेपाल धितोपत्र बोर्डले भने सधैं बढ्दो बजारमा लगानीकर्तालाई सचेत गराउने नाममा हतोत्साही बनाउने काम गर्ने गर्छ । बजार घटेर लगानीकर्ताको करोडौं डूब्दा बोर्डका यस्ता विज्ञप्ति बिरलै मात्र देख्न र पढ्न पाइन्छ । 

यति मात्रै होइन कि धितोपत्र बोर्डले यसअघि बजारको विषयमा विज्ञप्ति निकालेर खुलेआम चलखेल गर्दै परिसूचकमा ठूलो पहिरो निम्त्याएको तीतो विगत नै छ । कहिले कालोधन त कहिले सजगताको नाममा लगानीकर्ताको मनोबलमाथि प्रहार गर्ने बोर्डको शैलीको सर्वत्र आलोचना भइरहेको छ । 

बजार बढ्दा र लगानीकर्ताको सम्पत्ति बढिरहँदा टाउको दुख्ने बोर्डले उसकै कार्यक्षेत्रमा पर्ने बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा र ब्रोकर कमिसन कटौतिको महत्वपूर्ण विषयका प्रतिवेदनहरु भने रद्धीको टोकरीमा फाल्ने गरेको जानकार बताउँछन् । 

'बजार र लगानीकर्ताको हितका लागि आफैंले गर्नुपर्ने काम नगर्ने, तर बजार बढ्यो भनेर रोइकराई गर्दै लगानीकर्तालाई तर्साउने नियत बोर्डको विज्ञप्तिमा देखियो ।' बजारका जानकारहरु भन्छन्-'धितोपत्र बोर्डले खुलेआम ढंगले गरेको चलखेल र म्यानुपुलेसनको विषयमा अर्थमन्त्रालय बेखबर नबनोस् ।' 

स्मरणरहोस्, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी यसअघि पनि बजारमा चलखेल गर्ने पात्रको रुपमा परिचित व्यक्ति हुन् । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना केही दिनदेखि स्वदेशमा नरहेका र यही मौकाको फाइदा उठाएर गिरीले स्वार्थ समूहलाई फाइदा हुने गरी कुबेलामा विज्ञप्ति जारी गरेका कतिपयको आरोप छ ।