– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पछिल्लोपटक १८०० को विन्दुबाट फर्केको बजार आज पुनः त्यही लाइन १८९० मा  आएको छ। करिब १९९० को विन्दुसम्म पुगेको बजार विभिन्न हल्ला फैलिएपछि फेरि घट्न थालेको छ। 

यहीबीच नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज कात्तिक २४ गतेबाट लागू हुने गरी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ। जसमा अब मर्जर प्रयोजनका लागि बढीमा १५ दिनमात्रै कम्पनीहरुको सेयर रोक्का गर्न पाइने व्यवस्था गरिएको छ। 

सेबोनले यो निर्देशिका लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार पनि तत्काल फुकुवा गर्ने बाटो पनि खुला गरिदिएको छ। 

हाल मर्जर प्रयोजनका लागि ८ वटा वाणिज्य बैंकसहित ३७ वटा कम्पनीको सेयर कारोबार रोक्का छ। अब सेबोनको निर्देशिकाबमोजिम ती कम्पनीहरुले रोक्का रहेको सेयर कारोबार फुकुवा गर्न नेप्सेमा निवेदन दिनुपर्नेछ र नेप्सेले तत्काल कारोबार खुला गर्नुपर्नेछ। 

यही विषयले आज दिनभर बजार ततायो। आगामी साताबाट ती कम्पनीहरुका सेयर कारोबारमा आउने थालेपछि बजारमा थप दबाब सिर्जना हुने जानकारहरुको मत छ। 

राष्ट्र बैंकको मौद्रिक नीति र बैंकहरुको बढ्दो ब्याजदरले दबाबमा रहेको बजार हाल स–साना समाचारले पनि प्रभावित हुन थालेको छ। 

सेयर बजारमा पैसा र नीतिको राम्रै प्रभाव परेको हुन्छ। राष्ट्र बैंककै कठोर नीतिले अहिले बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा सेयर कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। 

यही अवस्थाबीच सेबोनको मर्जरसम्बन्धी नयाँ निर्देशिकाले आगामी साता बजार कस्तो प्रभाव पर्ला भन्ने जिज्ञासा आमलगानीकर्तामा रहेको पाइन्छ। 

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनिया मर्जर प्रयोजनका लागि हाल नेप्सेमा रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार खुल्ने व्यवस्था सेबोनले निर्देशिकामार्फत गरेकोमा स्वागतयोग्य रहेको बताउँछन्। ‘बजार घट–बढ जे भए पनि यो व्यवस्था धेरै सकारात्मक छ’, उनले भने, ‘मर्जरको नाममा लामो समय सेयर कारोबार रोकिनु न्यायसंगत थिएन। कसैलाई जरुरी परेमा सेयर बेच्न मिल्ने अवस्था थिएन। कति कम्पनीहरुको मर्जर प्रक्रिया एक–डेढ वर्षमा भाँडिएको अवस्था पनि थियो। अब यी सबैबाट छुटकारा मिलेको छ।’

हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकबीच मर्जर भाँडिएकोप्रति इंगित गर्दै रौनियारले भने, ‘राष्ट्र बैंकले लाभांश वितरण गर्न पनि दिएन। त्यो उचित होइन।’

अहिले भने राष्ट्र बैंक पनि उदार भएको रौनियारको भनाइ छ। ‘सेबोनले पनि राम्रो काम गर्यो’, उनले भने, ‘बजार केही दिन प्रभावित भए पनि भविष्य उज्ज्वल नै छ। किनकि बजार सुधारका नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुल्नु, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिनुजस्ता राम्रै काम भएका छन्।’ 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि सेबोनले आज ल्याएको निर्देशिका स्वागतयोग्य रहेको बताउँछिन्। ‘यो विषय हामीले पहिलेदेखि नै उठाउँदै आएका थियौँ। सेबोनले अहिले आएर कार्यान्वयनमा ल्याएको छ’, उनले भने, ‘ढिलै भए पनि सेबोनले राम्रै काम गरेको छ।’

यो व्यवस्थापछि लामो समयदेखि रोक्का रहेका कम्पनीहरुको सेयर कारोबारमा आउँदा बजार केही बिक्रीचाप पर्न सक्ने पनि पोखरेल बताउँछिन्। ‘केही सप्लाई त आउला तर सबैले अहिले नै सेयर बेच्छन् भन्ने छैन’, उनले भनिन्, ‘चुनावी वर्षमा बजार बढेको पनि छ। लगानीकर्ताले आवश्यक नपरेसम्म सेयर नबेच्न पनि सक्छन्। त्यसैले अहिले नै लगानीकर्ता धेरै आत्तिनुपर्ने अवस्था छैन।’ 

बजार जानकार मुक्ति अर्याल पनि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर खुल्दै जाँदा बजारमा बिक्रीचाप पर्न सक्ने बताउँछन्। ‘बजार २२०० मा हुँदा मर्जर प्रयोजनका लागि रोक्का भएका कम्पनीहरुको सेयर अहिले घटेको बेला कारोबारमा आउँदा केही करेक्सन आउन सक्छ’, उनले भने, ‘तर, मेरो विचारमा बजारले यसलाई सहज रुपमा लिन सक्छ। त्यसैले अहिले नै लगानीकर्ता धेरै डराइहाल्नुपर्नेजस्तो मलाई लाग्दैन। किनकि धेरै कम्पनीहरु बजार घटेको अवस्थामै मर्जर प्रक्रियामा गएका छन्। मर्जर प्रक्रियामा रहेका कम्पनीहरुका सेयर कारोबार खोल्नु राम्रै हो।’