काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल धितोपत्र बोर्ड (सेबोन) को पछिल्लो वक्तव्यले सेयर बजारमा लगानीकर्ताहरुको मनोबल घट्न पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। 

आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सेबोनको पछिल्लो वक्तव्यबाट सेयर बजारमा देखिएको असरका विषयमा ध्यानाकर्षण गराएका हुन्। ‘सेबोनले लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको सूची सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घटेको छ’, उनले भने, ‘यसले समग्र पुँजी बजारमा नकारात्मक सन्देश प्रवाह भएको छ।’

सेयर बजारजस्तो संवेदनशील क्षेत्रमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा अध्यक्ष मोरले जोड दिएका छन्। 

सोही भेटमा अध्यक्ष मोरले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन आग्रह गरेका छन्। बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै उनले त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिए। 

मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘बजेटमा जस्तै मौद्रिक नीतिमा पनि निजी क्षेत्रका समस्या सम्बोधन हुने हाम्रो विश्वास छ’, उनले भने। 

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मार्फत प्रत्येक निर्णय ७ देखि १५ दिनमा गरिसक्ने व्यवस्था गरेको भन्दै अध्यक्ष मोरले सरकारले पनि प्रत्येक मन्त्रालयका काम यसरी सम्पन्न गर्ने गरी समय तोक्नुपर्नेमा जोड दिए। उनले सरकारी निकायका निर्णय प्रक्रिया छिटो र छरितो हुनुपर्ने भन्दै त्यसले सेवा प्रवाहमा सहजता ल्याउने उल्लेख गरे। 

कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरुमा कार्यरत मजदुर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले उपप्रधान तथा अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ। यसैगरी मापदण्ड बनाएर निजी क्षेत्रलाई भ्याक्सिन आयातको अनुमति दिँदा थप सहज हुने र चाँडै नै लक्षित वर्गले खोप पाउने भएकोले यसतर्फ पनि ध्यान दिन पसिंघले अनुरोध गरेको छ। 

भेटमा मन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षको रूपमा लिएको बताए। उनले बजेटमा आएका प्रतिक्रियाले आफू उत्साही भएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने पनि बताए। 

असारभर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको भन्दै मन्त्री पौडेलले त्यसमा सबैको साथ आवश्यक रहेको पनि बताए। 

मन्त्री पौडेलले कोरोनाको भ्याक्सिन खरिदमा सरकार अघि बढेको बताए। उनले अमेरिका, चीन, भारत लगायतका देशबाट भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको पनि उल्लेख गरे। 

छलफलमा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र महानिर्देशक यादवप्रसाद पौड्यालसमेतको उपस्थिति थियो।