काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका संचालकहरुले धितोपत्र बोर्डले विभिन्न ५१ सूचीकृत कम्पनीहरुको संस्थागत प्रतिष्ठा र पहिचानमाथि आँच पुग्ने काम गरेको आरोप लगाएका छन् । 

बैंक तथा वित्तीय संस्थाका संचालकहरुको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले धितोपत्र बोर्डले आफूले गर्नुपर्ने कुराबाट बरालिएर लाखौं लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास सिर्जना गरेको समेत दाबी गरेको छ । 

सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाहले आज एक विज्ञप्ति सार्वजनिक गर्दै बोर्डको कदमको विरोध गरेका हुन् । 

बोर्डले असार १ गते बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीको नामै तोकेर प्रकाशित गरेको धारणाप्रति ध्यानाकर्षण भएको जनाउँदै शाहले भनेका छन्-'व्यक्ति वा समूहबाट बजारमा गराइने होहल्ला र अस्वभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरुको कामकारबाहीको वृहत अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित कानूनअनुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिक रुपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायीत्व र जिम्मेवारी ठहर्छ । सम्बन्धित संस्थाहरुको आर्थिक विश्लेषण गरी लगानी सम्बन्धी सूचनामुलक जानकारी उपलब्ध गराउनुका साथै समय समयमा आम लगानीकर्तालाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्दछ । साथै, संस्थागत पहिचान र प्रतिष्ठा माथि आँच नपुग्ने र लाखौं लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुनेछ ।' 

सिबिफिनले धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सूचीकृत कम्पनीहरुको नियामक निकाय भए पनि उसको भूमिका सोअनुसार नभएको सिबिफिनको विश्लेषण छ । 

धितोपत्र बजारको वृहत्तर सुधार, विकास एवम् विस्तारका लागि सम्बन्धित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिन समेत बोर्डलाई सुझाइएको छ ।