काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि ठूलठूला योजनासहित अगाडि बढिरहेको सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारीको तुलनामा फाँट संख्या बढी हुँदा अस्तव्यस्त बन्न पुगेको छ। 

हाल सेबोनमा ६४ जना कर्मचारी कार्यरत छन्। तीमध्ये पनि ३१ जनालाई कायम मुकाय (कामु) मुकरर गरिएको छ।सेबोनमा यति न्यून कर्मचारी भए पनि विभाग, महाशाखा र शाखा गरी कुल ३५ फाँट छन्। जसका कारण कतिपय फाँट एकजना अधिकारी एक्लैले चलाउनुपर्ने अवस्था छ। यही कारण सेबोनको दैनिक कामकाजसमेत अस्तव्यस्त बनिरहेको छ।  

यसबीच एकै प्रकृतिको काम गर्न विभाग र महाशाखा खोलेर आर्थिक भार बढाइरहेको आवाज पनि सेबोनभित्रै उठ्न थालेको छ। सयौँका संख्यामा कर्मचारीहरु रहेका कार्यालयमा विभाग र महाशाखा खोल्नु उचित भए पनि थोरै कर्मचारी रहेको सेबोनमा उचित नरहेको कर्मचारीहरु नै बताउन थालेका छन्। 

हाल सेबोनमा चार विभाग र ९ वटा महाशाखा छन्। सीमित कर्मचारी रहेका र त्यसमाथि आधाजसो कर्मचारी कामुको जिम्मेवारीबाट चलिरहेको सेबोनमा महाशाखाको कुनै औचित्य नै रहेको कर्मचारीहरु बताउँछन्। 

सेबोनमा नियमन, व्यवस्था तथा कानुन, सुपरिवेक्ष र वस्तु बजार तथा अनुसन्धान गरी चार विभाग छन्। यीमध्ये नियमन विभागअन्तर्गत नियमन महाशाखा रहेको छ। 

यसैगरी व्यवस्थापन तथा कानुन विभागअन्तर्गत व्यवस्थापन तथा वित्त महाशाखा र कानुन महाशाखा सञ्चालनमा छन्। यसअघि नियमन, व्यवस्थापन तथा कानुन विभाग थियो। पछि टुक्र्याएर नियमन र व्यव्सथापन तथा कानुन विभाग बनाइएको हो। 

यस्तै सुपरिवेक्षण विभागअन्तर्गत धितोपत्र व्यवसायी महाशाखा, बजार तथा सूचीकृत संस्था मशाखा, धितोपत्र दलाल व्यापारी महाशाखा र वस्तु विनिमय कारोबार सुपरिवेक्षण महाशाखा छन्। 

उता वस्तु बजार तथा अनुसन्धान विभागअन्तर्गत वस्तु विनिमय तथा व्यवसायी महाशाखा र धितोपत्र तथा वस्तु बजार अनुसन्धान महाशाखा छन्। 

यसरी एउटै प्रकृति काम हुने गरी विभाग र महाशाखा खोल्नु उचित नरहेको सेबोनकै एक अधिकारीले बताए। ‘थोरै कर्मचारी छौँ तर विभाग, महाशाखा र शाखा गरी थुप्रै फाँट छुट्याइँदा कति ठाउँमा त एकजनामात्रै कर्मचारीले सबै काम गर्नुपर्ने अवस्था छ। यसले गर्दा एकातिर आर्थिक भार बढेको छ भने अर्कोतिर कर्मचारीले कामको स्तरवृद्धिमा बाधा पुगेको छ’, ती अधिकारीले भने।

ती अधिकारीका अनुसार अहिले सेबोनमा रहेका २० वटा शाखामध्ये ९ वटा शाखा त शाखा अधिकृत एक्लैले चलाउनुपर्ने अवस्था सिर्जना भएको छ। ‘शाखा अधिकृतलाई सहयोग पु्र्याउने अन्य कर्मचारी नै छैनन्’, ती अधिकारीले भने। 

हाल धितोपत्र व्यवसायी नियमन शाखा, धितोपत्र बजार, सीडीएस, विशेष सदस्य तथा आस्बा शाखा, कानुन तथा मुद्दा शाखा, सम्पत्ति शुद्धीकरण तथा गुनासो व्यवस्थापन शाखा, कानुन प्रवलीकरण शाखा, धितोपत्र दलाल व्यापारी शाखा, वस्तु विनियम, राफसाफ तथा फर्छ्यौट शाखा, अनुसन्धान, संस्थागत नीति योजना तथा जोखिम व्यवस्थापन शाखा र प्रशिक्षण तथा वित्तीय साक्षरता शाखा एकजना शाखा अधिकृतकै भरमा चलिरहेका छन्। 

सेबोनकै अर्का एक अधिकारीले पुँजीबजार विकास र विस्तारका लागि तीव्रगतिका साथ काम भइरहे पनि सेबोनभित्रकै कर्मचारी व्यवस्थापनमा चुक्ने हो भने गुणस्तरीय काम हुन नसक्ने बताए। ‘नयाँ स्टक एक्सचेन्ज, थप ब्रोकर लाइसेन्स र कमोडिटिज मार्केट चलाउने तयारी भइरहेको छ’, ती अधिकारीले भने, ‘तर, सेबोनभित्रै कर्मचारी व्यवस्थापन चुस्त र दुरुस्त कहिले हुने ? यी सबै काम गर्न गराउन ठूलो जनशक्ति चाहिन्छ तर सेबोनमा सीमित कर्मचारी छन्।’

ती अधिकारीका अनुसार जनशक्ति अभावकै कारण सेबोनले फिल्डमै गएर बजार नियमन र सुपरिवेक्षणको काम गर्न सकेको छैन। ‘अहिलेसम्म एकपटक पनि सेबोनका कर्मचारी बजारमा गएर अनुगमन गरेका छैनन् किनकि जनशक्ति नै छैन’, उनले भने। 

बजारलाई पारदर्शी बनाउने र आमलगानीकर्ताको हितमा काम गर्ने सेबोन अध्यक्षका कुरा जनशक्ति अभावकै कारण ओझेलमा पर्न सक्ने ती अधिकारीको भनाइ छ।