-अनन्त्य सुन्दर
काठमाण्डौ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र फ्रन्ट लाइन रेगुलेटर नेप्से अहिले नेतृत्वविहीन छन्। नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका सीइओ चन्द्रसिंह साउदको नाम सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद प्रकरणमा मुछिएसँगै अहिले दुवै निकायहरू नेतृत्वविहीन भएका हुन्।

नियामक निकायहरूमा नेतृत्व हुँदा विभिन्न समस्याहरू सृजना भएको बजारसँग सम्बन्धित निकायहरू बत्ताउँछन्। ‘दसैँ अघि सेबोनमा अध्यक्ष नहुँदा धेरै कामहरू अड्किएका थिए।’ सेबोनको एक उच्च पदाधिकारी भन्छन्–‘बोर्डको कार्यकारी प्रमुख नहुँदा आइपीओ, डीभेन्चर लगायत विभिन्न योजना तथा स्वीकृतिहरू हुन् सकेको थिएन। हाम्रो कार्य(अधिकारमा धेरै कार्यहरू नपर्ने भएकाले हामी पनि अन्योलमा थियौ। तर दसैँ अघि बोर्डको बैठक बसेसँगै दुई वटा डीवेञ्चरको निष्कासन भएको छ, अब आइपिओ पनि धमाधम निष्कासन हुने प्रक्रिया थालिएको छ।’

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रवक्ता मुराहरी पराजुलीका अनुसार बजारमा दैनिक कार्य सञ्चालन साथै भइरहेको बताए। पराजुली भन्छन्,–‘दैनिक कारोबार भएतापनि अहिले नेप्सेमा सीइओ नभएकाले नयाँ विकासका गतिविधि हुनसकेको छैन।’

‘अहिले नियामक निकायहरूमा नेतृत्व नहुँदा ब्रोकरहरूको थुप्रै कामहरू अड्किएको छ।’ स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली भन्छन्–‘श्रावणदेखि सञ्चालनमा आउने भनिएको ब्रोकरको टिएमएस एपीआई पोलिसी नआएकाले रोकिएको छ। ब्रोकरहरूले नयाँ शाखाको स्वीकृति रोकिएको छ।’

मैनाली भन्छन्,–‘अर्थ मन्त्रालयको लापरबाहीले गर्दा हामीले सोचे अनुरूपको सेवा दिन सकेका छैनौ।’

‘बजार केही अंकले बढ्नेबित्तिकै विज्ञप्ति निकाल्ने नियामक निकायहरू मौन छन्।’ बजारका सक्रिय एक लगानीकर्ता भन्छन्–‘अहिले बजार ७००–८०० अंकले घट्दा पनि नियामक निकायहरूमा कोही नहुँदा चूप छन्। लगानीकर्ताहरूको यत्रो नोक्सान कसले बेहोर्छ ?’

अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार अर्थ मन्त्रालयमा नयाँ नेतृत्वको गृहकार्य भइरहेको बताए। शाक्य भन्छन्–‘बजारको नियामक निकायहरूमा नेतृत्वहरूको नियुक्तिलाई मन्त्रालयले अध्ययन गरिरहेको छ। छिट्टै नै पदाधिकारीहरू चयन हुने छन्।’