काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भीष्मराज ढुंगानाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सेयर धितो राखेर प्रवाह हुने कर्जाको सीमा घटाउन नदिने गरी लविङ गर्ने बताएका छन्। 

बजारमा विभिन्न मिडियाहरु प्रयोग गरेर चलखेल गर्नेहरुले सेयर धितो कर्जाको सीमा ७० प्रतिशतबाट घटाएर ६०  प्रतिशतसम्म ल्याउन लागिएको हल्ला पिटाइरहेको बेला बजारको नियामक बोर्डका अध्यक्ष ढुंगानाले त्यो सीमा उचित रहेको र कुनै पनि बाहानामा घट्न नहुने बताएका हुन् । 

राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो समीक्षाबाटै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर लगानीमा कडाई गरिसकेको उल्लेख गर्दै अब थप कडाई आवश्यक नरहेको उनको भनाई छ । 

केन्द्रीय बैंकले सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको थियो । ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’–राष्ट्रबैंकले जारी गरेको सर्कुलरमा भनिएको छ । 

यस्तै, बैंकहरुले गरेको लगानी बिक्रीमा पनि नयाँ व्यवस्था गरिएको छ । अब खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने व्यवस्था ल्याइएको हो ।  तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । 

यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पनि बन्देज गरिएको छ।

‘विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।’ सर्कुलरमा भनिएको छ–’यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्नेछ ।’

यो व्यवस्थाले बजारमा मौलाएको विकृति धेरै कम गरिसकेको उल्लेख गर्दै मौद्रिक नीति बनाउँदा मार्जिन लोनको सीमा चलाउन नहुने अध्यक्ष ढुंगानाको सुझाव छ । 

‘मार्जिन लोनको सीमा ७० प्रतिशतलाई नै यथावत राख्नुपर्छ ।’ उनले बिजशालासँग भने–‘हामीले यो विषयमा राष्ट्रबैंकलाई भनिरहेका छौं ।’ 

उनले लगानीकर्ताको लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै अब लगानीकर्तालाई प्यानिक बनाउन नहुने प्रष्ट पारे ।

‘उत्साहका साथ बजारमा प्रवेश गरेको नयाँ लगानीकर्तालाई निरुत्साहित बनाउने काम कतैबाट पनि हुनुहुन्न ।’ उनले बिजशालासँग भने–‘बजारमा हल्ला भएजस्तो मार्जिन लोनको सीमा घट्दैन, हामी घट्न दिंदैनौं ।’ 

अध्यक्ष ढुंगाना लामो समयसम्म नेपाल राष्ट्रबैंकमा काम गरेका व्यक्ति हुन् । उनी लामो समय कार्यकारी निर्देशकको रुपमा काम गरी राष्ट्रबैंकबाट निवृत भएका थिए । अवकाश भएको केही महिनामै उनले धितोपत्र बोर्डमा नियुक्ति पाएका हुन् ।