काठमाण्डौ । ब्रोकरले ल्याउने भनेको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आगामी साउन १ गतेबाटै सञ्चालन ल्याइने भएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी साउन १ गतेबाटै ब्रोकरको आफ्नै टीएमएस सञ्चालनमा आउने जानकारी गराएको हो। ‘ब्रोकरको टीएमएस सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आएको संशोधितसहितको एपीआई पोलिसीका विषयमा छलफल भइरहेको छ’, बिजशालासँगको कुरा गर्दै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘सम्भवतः बोर्डबाट आगामी साताभित्रै उक्त एपीआई पोलिसी पास हुन्छ।’

एपीआई पोलिसी पास भएसँगै ब्रोकरको आफ्नै टीएमएस साउन १ बाट सञ्चालन गर्नका लागि बाँकी कामहरु तीव्रगतिमा अगाडि बढ्ने अध्यक्ष ढुंगानाको विश्वास छ। ‘नेप्से र ब्रोकरले त्यसपछिका प्रक्रियाहरु छिटै पूरा गरी टीएमएस सञ्चालन ल्याउने छन्’, उनले भने। 

हालको टीएमएसमा देखिँदै आएका समस्याका कारण आजित भएका लगानीकर्ताहरुलाई ब्रोकरको नयाँ टीएमएस आएसँगै राहात मिल्ने विश्वास गरिएको छ। 

ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली नयाँ टीएमएस सञ्चालनका लागि आफूहरु पूर्ण तयारीमा रहेको बताउँछन्। ‘नियामकबाट एपीआई पोलिसी पास भएर आउनुअघिका सबै प्रक्रिया पूरा गरिसकेका छौँ’, मैनाली भन्छन्, ‘एपीआई पोलिसी पास भएर आएपछि नयाँ टीएमएस परीक्षणको प्रक्रिया अगाडि बढाउँछौँ।’

एपीआई पोलिसी पास भएर आएपछि सिस्टम परीक्षणलगायतका कार्य छिटोभन्दा छिटो पूरा गरिने मैनालीले जानकारी दिए।