– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज कम्पनीका विषयमा छलफल नै नभएको स्पष्ट पारेको छ। 

सेबोन अध्यक्ष भीष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्जका विषयमा अहिले छलफल नै नभएको स्पष्ट पारेका हुन्। ‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छ तर अहिले यस विषयमा सेबोनमा कुनै पनि छलफल नै भएको छैन’, उनले भने, ‘छलफल नै नभएको अवस्थामा नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई सञ्चालनको अनुमति दिने तयारी भइरहेको छ भनेर हल्ला फैलाउनु गलत हो।’

केही सञ्चार माध्यमबाट सेबोनले नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई अनुमति दिने गृहकार्य गरिरहेको भन्ने समाचारहरु प्रकाशित भएपछि अध्यक्ष ढुंगानाले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘सेबोनले नयाँ स्टक एक्सचेन्जका विषयमा कुनै पनि किसिमको गृहकार्य गरेको छैन’, ढुंगानाले बिजशालासँग भने, ‘यसरी सेबोनका आधिकारिक व्यक्तिलाई नसोधी प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, सञ्चार माध्यमले यस्ता समाचार प्रकाशित गर्दा सत्यतथ्य बुझेरमात्र प्रकाशित गर्न म अनुरोध गर्छु।’ 

हाल नेपालमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मात्रै सेयर कारोबार हुन्छ। निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिने हो भने बजार थप प्रतिस्पर्धी हुने भन्दै आवाज उठ्दै आएको छ। 

हालको व्यवस्थाअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सूचीकृत कम्पनी र स्टक ब्रोकर कम्पनीहरुले मात्र लगानी गर्न पाउने व्यवस्था छ। त्यसलाई संशोधन गर्दै अब व्यक्तिले समेत लगानी गर्न पाउने गरी विद्यमान व्यवस्थामा संशोधन गरी बोर्डले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको स्रोत बताउँछ। 

यसैबीच अध्यक्ष ढुंगानाले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने विषयमा भने अहिले छलफल भइरहेको बताए। ‘त्यसका लागि नियमावली संशोधन गर्न आवश्यक देखिएको छ, त्यसका लागि काम गरिरहेका छौँ’, उनले भने, ‘नियामवली संशोधनपछि मात्र नयाँ ब्रोकर लाइसेन्स वितरणको बाटो खुला हुन्छ।’ 

आगामी आर्थिक वर्षका लागि धितोपत्र बोर्डले ल्याउने नीति तथा कार्यक्रमका विषयमा पनि गृहकार्य भइरहेको अध्यक्ष ढुंगानाले जानकारी दिए। ‘यसअघि ल्याइएको चारवर्षे रणनीतिक योजनाअन्तर्गत नै नीति तथा कार्यक्रम आउनेछ’, उनले भने, ‘यो महिनाको अन्त्यसम्म नीति तथा कार्यक्रम आउँछ।’