– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले चालु आर्थिक वर्ष नेपालको सेयर बजारका लागि एक शताब्दीकै सम्झनायोग्य र ऐतिहासिक हुने दाबी गरेका छन्। उनले यसका लागि धितोपत्र बोर्डले त्यहीअनुसार कामकारबाही अगाडि बढाउन लागेको पनि जानकारी दिए। 

धितोपत्र बोर्डको कार्यालयमा बिजशालाकर्मीसँगको कुराकानीमा अध्यक्ष ढुंगानाले त्यस्ता ऐतिहासिक काम बजार विस्तारका हिसाबले हुने पनि बताए। ‘जुन काम पुँजी बजारको २९ वर्षको इतिहासमा भएन, अबको १ वर्षभित्रै हुनेछ र १०० वर्ष सम्झनायोग्य हुनेछ’, उनले भने। 

अध्यक्ष ढुंगानाले के–कस्ता काम तथा योजना धितोपत्र बोर्डको रहेको भन्नेबारे भने तत्काल खुलाउन चाहेनन्। ‘२–४ दिन प्रतीक्षा गर्नुहोस्, सबै थाहा हुन्छ’, उनले भने। 

ती कार्ययोजनाहरु धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिने हुनाले अहिले नै खुलाउन उपयुक्त नहुने ढुंगानाको भनाइ थियो। ‘धितोपत्र बोर्डको नीति तथा कार्यक्रम मौद्रिक नीतिभन्दा अगाडि नै आउनेछ’, उनले भने। 

नयाँ ब्रोकर लाइसेन्स वितरणका विषयमा अध्यक्ष ढुंगानाले अब कम्तीमा १० करोड रुपैयाँदेखि १ अर्बसम्मको पुँजीका आधारमा नयाँ ब्रोकर लाइसेन्स दिइने संकेत पनि गरे। ‘के र कस्ता कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने।

यसैगरी अध्यक्ष ढुंगानाले अर्थमन्त्री जनार्दन शर्मा पनि पुँजी बजारप्रति सकारात्मक रहेको बताए। ‘केही दिनअघि अर्थमन्त्री शर्मासँग भेटघाट भएको थियो, उहाँ पुँजी बजार विकास, विस्तार र स्थायित्वका लागि प्रतिबद्ध हुनुहुन्छ’, उनले भने। 

ढुंगानाले पुँजी बजारप्रति सरकार सकारात्मक रहेकोले लगानीकर्ता खासै डराउनु पर्ने अवस्था नरहेको बताए। ‘यसअघि ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेर धितोपत्र बोर्डले सेयर बजारलाई स्थायित्व दिन चाहेको हो’, उनले भने, ‘सुन र पित्तलको मूल्य एउटै हुन सक्दैन, त्यसैले लगानीकर्तालाई कम्पनीको अवस्था हेरेर लगानी गर्न म पुनः आग्रह गर्छु।’

पुँजी बजारले प्राविधिकमा धेरै फड्को मारेको उल्लेख गर्दै अध्यक्ष ढुंगानाले अझै धेरै काम गर्न बाँकी रहेको बताए। ‘ती काम हामी पूरा गरेरै छाड्ने छौँ’, उनले भने।