काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनी संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनी संरचना परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औँ वार्षिक साधारणसभाबाट कम्पनीमा संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही निर्णयलाई कम्पनीले कार्यान्वयन गर्न लागेको हो।

हाल कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर हिस्सा रहेको छ। 

कम्पनीले कोही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न इच्छुक नभएमा सोहीअनुसारको स्वघोषणा गरी ७ दिनभित्र कम्पनीको काठमाण्डौको सानोगौचरनस्थित कर्पोरेट कार्यालय वा ई–मेल ठेगानामा जानकारी गराउन आग्रह गरेको छ। तोकिएको समयसीमाभित्र स्वघोषणा पत्र संस्थापक सेयरधनीबाट प्राप्त नभएमा संस्थापक सेयरधनीले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न स्वीकृति प्रदान गरिएको मानिने कम्पनीले स्पष्ट पारेको छ।