काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि घोषणा गरेको डबल अफर पारित गराउने उद्देश्यले वार्षिक साधारणसभामा बोलाएको छ । 

कम्पनीले आइतबार एक सूचना प्रकाशित गरी आगामी चैत १७ गते ८ औं र नवौं वार्षिक साधारणसभा एकसाथ आह्वान गरेको हो । सूचना अनुसार वीरगञ्जको होटल विश्वामा दुवै वर्षको साधारणसभा बोलाइएको छ । 

वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७१/७२ तथा २०७२/७३ मा भएको खूद नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ । 

यस्तै, बोनस सेयर वितरणपछि कायम हुन आउने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत पेश हुने बताइएको छ । यी दुवै प्रस्ताव पारित भएको खण्डमा २० प्रतिशत बोनस पाएलगत्तै लगानीकर्ताले ५० प्रतिशत हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

वार्षिक साधारणसभामा हाल १ अर्बमा सीमित रहेको अधिकृत पूँजी बढाएर २ अर्ब पुर्याउने विशेष प्रस्ताव समेत पेश हुनेछ । पब्लिक सेयरहोल्डरको तर्फबाट संचालक समितिको निर्वाचन समेत हुने बताइएको छ । 

वार्षिक साधारणसभाका लागि चैत २ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ, चैत १ गतेसम्म एशियन लाइफ इन्स्योरेन्सको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र घोषित बोनस र हकप्रद पाउनेछन् । 

यो बिमा कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ८ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी हाल ६७ करोड १३ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रदपछि चुक्तापूँजी १ अर्ब २० करोडको उचाईमा पुुग्नेछ ।