-अर्जुन तिमल्सिना
काठमाण्डौ । हरेक प्राणी होस् वा मान्छे सबैको आफ्नो जीवन हुन्छ । जीवन जिउन केही न केही काम गर्नै पर्छ । सेयर कारोबार पनि एउटा पेशा नै हो, काम नै हो । यो बजारमा झट्ट हेर्दा, सुन्दा ठूलाडालू मात्रै लागेका हुन्छन् जस्तो देखिन्छ । सेयर बजारमा केही साधु जीवन जिएका पनि लागेका हुन्छन् भन्दा र सुन्दा धेरैलाई अचम्म लाग्ला । तर, यो वास्तविकता हो । नेपालको बजारमा एक यस्ता साधु छन्, जसले सेयर बजारमा आफ्ना २० औं उर्जाशील बसन्त खर्च गरिसकेका छन् । तिनै सन्त अर्थात विदूर भट्टराई(बजारका बाबाजी)सँग हामीले शिवरात्रिको अवसर पारेर सेयर बजार र यससँग शिवभक्ति र शक्तिको अन्तरसम्बन्ध बारे केलाउने प्रयास गरेका छौं । 

ती सन्तको भनाईलाई आधार मान्ने हो भने बुलिस बजारको प्रतिक नै शिवजीको बाहन साँढे हो । ‘हिन्दू धर्मअनुसार शिवको बाहन पनि साँढे हो र सेयर बजारको बढोत्तरीको प्रतिक पनि साँढे भएकोले बजारसँग शिव महिमा तथा शक्ति अन्तरसम्बन्धित हुन्छ ।’–ती सन्तले बिजशालासँग भने । 

उनले लगभग हालसम्म नेपाली बजारमा आएका सबै बुलिस ट्रेण्डलाई नजिकबाट देखे र भोगे । ‘बियरिस मार्केट हुँदा पैसाको ब्यबस्थापन गर्ने हो भने बुलिस मार्केटमा निस्कन तथा प्रतिफल पनि लिन जान्नु पर्छ।’ नेपाली सेयर बजारका ‘बाबाजी’ उपनामले समेत चिनिने भट्टराई भन्छन्–‘तर अहिले नै नेपालको बजारमा दीगो बुल आइसकेको छैन, यो त सुरुवात मात्रै हो ।’

उनले लगानी गरेका कम्पनीहरुमा सबैले बुलको उत्साहजनक रिटर्न मात्रै दिएका छैनन् । कतिपय कम्पनीमा गरिएका लगानी अहिलेसम्म पनि उठ्न नसकेको तीतो यथार्थ समेत उनीसँग रहेछ । उनले आफ्नो अनुभब सुनाउँदै बिजशालासँग भने–‘एउटा राम्रै फाइनन्स थियो, पहिला फाइनान्स छँदा राम्रै थियो, मर्जमा गएपछि अर्को कम्पनी राम्रो रहेनछ, अहिलेसम्म पनि घाटा नै छ । मर्जमा गए पनि अर्को कम्पनीको अबस्था राम्रो नभए फाइदा हुन्न ।’

सरकार तथा नियामक निकायहरुमा बस्नेहरुको एक बोलीका कारण समेत सेयर बजारमा ठूलो उतारचढाव हुने उनी बताउँछन् । उदाहरण दिंदै उनले बाबुराम भट्टराई प्रधानमन्त्री भएको अवस्थाको घटना सुनाए । ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बजार ११७५ जति थियो, उनको एकै शब्दले बजारमा नकारात्मक प्रभाब पार्यो । बजार घट्दा घट्दा २९० तिर आयो, तर मैले हिम्मत हारिँन, बरु घटेको बेला पैसाको ब्यबस्थापन गरेँ र पोर्टफोलियोमा थप सेयरहरु समावेश गरेँ ।’ उनले भने–‘पछि बजारमा जब बुल सुरु भयो, त्यसपछि सानो लगानीबाट करोड माथि नै कमाइयो ।’

बाबुराम भट्टराईले प्रधानमन्त्री भएको बेला सेयर बजारलाई जूवाघरको संज्ञासहितको अभिव्यक्ति दिएपछि त्यसले बजारमा निकै ठूलो प्रभाव पारेको थियो । 

उनको सुझावमा सेयर बजारमा सर्वसाधारणको अरबौं लगानी हुन्छ, तसर्थ उच्च तहमा बस्नेहरुले बोल्दा विचार पुर्याउन जरुरी छ । 

उनलाई बजारको अनेकन रुपको विषयमा पनि निकै राम्रो जानकारी रहेछ । ‘यो बजारमा कहिले छोटै समयमा पनि कमाइ हुन्छ, कहिले लामो समय होल्ड गर्दा पनि कमाइन्न ।’ बजारका अनेकन रुप बारे चर्चा गर्दै बाबाजीले भने–‘तर मुख्य विषय भनेको कम्पनीको छनौट नै हो । यससँगै बजारको माहौल पनि बुझ्न जान्नुपर्छ ।’

एक सफल लगानीकर्ताका लागि कम्पनीको छनौट नै महत्वपूर्ण हुने उनको अनुभव छ । ‘राम्रो वित्तीय अवस्था भएका कम्पनी छानिए त्यसबाट कयौं गुणासम्म पनि कमाउने संभावना हुन्छ, तर यदि कम्पनी कमजोर छ भने त्यस्तामा गरिएको लगानी निमेषभरमै डूब्न पनि सक्छ ।’ बाबाजी अगाडि भन्छन्–‘कम्पनी सस्तो र सुरक्षित मात्रै छानेर नि भएन, त्यसले दिने प्रतिफल राम्रो छ र सानो पुँजी तथा बार्षिक ३० प्रतिशतदेखि माथि प्रतिफल दिन्छ भने केही जोखिम लिएरै लगानी गर्दा हुन्छ ।’

उनको भनाईअनुसार हाम्रो देशमा राइट(हकप्रद) तथा बोनश सेयरमा ध्यान दिले चलन छ । यो मार्केट भनेको बिस्तारै बढेर माथि जाने हो । राम्रो कम्पनीमा होल्ड गर्दा १ सय कित्ताको ३ सय पनि हुन्छ । बजार भाउ पनि बढेर जाने हुँदा २ बर्षमा तीन–चार गुणा सजिलै रिटर्न हुन्छ । ‘राम्रो कम्पनीको सेयर जोखिम मोलेरै भए पनि खरीद गर्नुपर्छ, तर यसरी खरीद गर्दा आफूसँग भएको सबै रकम एकैपटक लगानी गर्नुहुन्न ।’–बजारका साधारण लगानीकर्ताहरुलाई सुझाव दिंदै उनी भन्छन् ।

उनको विश्लेषणमा पछिल्लो समय बजार लगातार घट्ने कारण बुल सकिएर होइन । उनी त वास्तविक बुल सुरु हुनै बाँकी रहेको ठान्छन् । ‘अझै पनि बजारमा लगानीको छोटो समयमै डबल प्रतिफल दिने कम्पनीहरु छन्, कतिपय कम्पनीका मूल्य धेरै माथि पुगेकोजस्तो देखिएला, तर राम्रो वित्तीय अवस्था तथा इतिहास छ भने अझै त्यस्ता कम्पनीमा लगानी गर्दा फाइदै हुन्छ ।’ लगानीकर्तालाई टिप्स दिंदै शिवरात्रि मनाउन पशुपति पुगेका बाबजीले भने–‘लगानी गर्दा हौवाको पछि कुद्नुहुन्न । आफैंले सकेसम्म आफूभन्दा जान्नेसँग सोधेर वा स्वअध्ययन गरेर लगानीको निर्णय लिनु उचित हुन्छ । बजारमा आउने नवप्रवेशीहरुले पुराना वा आफू नजिकका विश्लेषकसँग सोध्न लजाउनु हुन्न ।’

सेयर बजारको मुटु नै सूचना रहेको प्रष्ट पार्दै उनले सूचनाको पहुँच राम्रो बनाउने र राम्रो अध्ययन गर्ने लगानीकर्ताले एकपटक लगानी गरेपछि पछाडि फर्किएर हेर्नु नपर्ने दाबी समेत गरे । 

हामीले सोध्यौं–‘उसो भए अहिलेको बजार दैनिकजसो किन घटिरहेको त ?’ पशुपति क्षेत्रको विशाल साँढेको प्रतिमा अगाडि उभिएका उनले थपे–‘अहिलेको राजनीतिमा खासै केही बिग्रिएको छैन । माओवादी द्वन्द्वको बेला त सेयर बजार बढेको थियो भने अहिले राजनीतिकै कारण घट्ने भन्ने हुँदैन ।’ उनले आत्माविश्वाससहित भने–‘अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स बढेकै छ । अर्थतन्त्र पनि कोभिड प्रभावबाट मुक्त हुने दिशातर्फ उन्मुख छ, सबै सूचकहरु लयमा आइसकेका छन् ।’

हामीले फेरि सोध्यौं–‘सबै ठीकठाक छ भने, बजार चाहिँ किन घटिरहेको छ त ?’ आफ्नो निश्कर्ष सुनाउँदै उनले भने–‘अहिले बजार घटाउन स्वार्थी समूह तथा सँस्थागतहरुको नै मिलेमतो छ । सोझा यस्तो बेलामा फस्न सक्छन्, तर खासै डराउनु पर्दैन । बजार फेरि पनि माथि जाने नै हो, ढुक्क भए हुन्छ ।’