-उज्वल घिमिरे
लामो समयका लागि सेयर किन्न मन भए फन्डामेन्टल एनलाइसिस(आधारभूत विश्लेषण) गरिन्छ । छोटो समयका लागि किन्ने लगानीकर्ता वा ट्रेडरहरुले पनि प्रयोग नगर्ने त हैन तर उहाँहरुले प्राविधिक विश्लेषण बढी रुचाउनुहुन्छ। 

सेयरको आधारभूत विश्लेषणका अनेक तरिका छन् । सबै सिक्न त आजीवन लाग्छ। तर यहाँ चाहिँ म उपकरणहरुका एउटा संयोजनबारे र लामो समयसम्म पोर्टफोलियोमा राख्ने सेयर कसरी छान्नेबारे बताउँछु । यसले तपाइँलाई किन्ने, बेच्ने वा साँच्ने भन्ने निर्णय लिन मद्दत गर्नेछ। 

पहिलो कदम भनेको कम्पनीको वित्तीय प्रस्तुति ( पर्फर्मेन्स) हेर्नु हो। सुरुमा कम्पनीको अघिल्ला वर्षका वित्तीय पर्फर्मेन्स खोज्नुपर्छ। विगतको वित्तीय प्रस्तुतिको मूल्यांकनबाट कम्पनीको वृद्धि, आय, नाफा वा नोक्सानबारे र कम्पनीले स्वपुँजी कत्तिको कुशलतापूर्वक उपयोग गर्दैछ भन्ने थाहा पाइन्छ।

यसका लागि हामीले कम्पनीका अघिल्ला ५देखि १० वर्षका डाटा हेर्न सक्छौँ। त्यो जानकारी कम्पनीको वेबसाइटको लगानीकर्ताको सेक्सनमा वा तेस्रो पार्टी वेबसाइटमा भेटिन्छ। 

खयाल गर्नुपर्ने कुरा चाहिँ वित्तीय विवरणलाई मात्रै अलग्याएर चाहिँ सूचकका रुपमा हेर्नुहुन्न । बरु अरु परिसूचकहरुको संयोजनमा हेर्नुपर्छ।

तसर्थ पहिलो कुरा वित्तीय पर्फर्मेन्स हो। वित्तीय पर्फर्मेन्समा पहिले आम्दानी र खुद नाफा हेर्छौं। यिनले चाहिँ कम्पनीले कति पैसा कमाउँदैछ र भविष्यमा कति कमाउनेछ भन्ने बताउँछ। यस्तो कम्पनी खोज्नुपर्छ, जसको आय र खुद नाफा दुवै लगातार बर्सेनि बढ्दो छ र त्रैमासिकपिच्छे बढेको भए त झनै राम्रो। कम्पनीको आय र खुद नाफा घटेको भए कम्पनीले ठूला ग्राहक गुमाएको वा आफ्ना उत्पादन वा सेवा बेच्न छाडेको वा आफ्नो प्रतिस्पर्धात्मक धार गुमाएको भन्ने जनाएको हुनसक्छ। त्यति भन्दाभन्दै थोरै कमाउने वा घाटामा भएका कम्पनीलाई विचार नै नगर्नु भन्ने होइन। कहिलेकाहीँ विस्तारको सुरुआती चरणमा भएको तर पैसा कमाउने दमदार योजना भएको पनि हुनसक्छ । अमेजनजस्तो विशाल कम्पनी पनि कुनै समयमा घाटामा थियो।

त्यसैले त्यस्ता आउट लायर्स छन् कि भनी खोजौँ।

सारांशमा राम्रो कमाइ भएको कम्पनी खोज्ने हो तर तपाइँको विश्लेषणअनुसार कम्पनी उँभो बढ्छ जस्तो लाग्छ भने नकारात्मक आय भएको अमेजनजस्तो कम्पनीले पनि धैर्यधारण गरे राम्रो प्रतिफल दिनसक्छ।

दोस्रो कुरा फाइनान्सियल रेसियो हो । किनकि यसले कम्पनी–कम्पनीबीच तुलना गर्न मद्दत पुर्याउँछ।

पहिलो अनुपात सामान्य प्रतिसेयर आय (ईपीएस) हो । जसले कम्पनीले हरेक सेयर आउट स्ट्यान्डिङबापत कति कमाउँछ भन्ने बताउँछ। सामान्यतया ईपीएस बढी भयो भने मुनाफा पनि बढी हुन्छ । ईपीएस बढी हुनु भनेको कम्पनीसँग प्रतिसेयरहोल्डर टन्न पैसा छ भन्ने हो । त्यसैले लाभांश पाउने सम्भावना पनि प्रबल छ। बलियो ईपीएसले कम्पनीमा विस्तारको सम्भावना भएको पनि बुझाउँछ। लगातार बर्सेनि बढ्दो ईपीएस भएको कम्पनी रोज्दा राम्रो हो। ईपीएस धेरै प्रकारका हुन्छन् तर कम्पनीको वेबसाइटको कम्पनी रिपोर्टमा भेटाइने बेसिक ईपीएस हेरे पुग्छ। 

अब बलियो ईपीएस भनेको चाहिँ के हो त ? 
यसका लागि हामीले औद्योगिक औसत (इन्डस्ट्री एभरेज) हेर्नुपर्छ । म एउटा उदाहरण दिन्छु नेपालमा कमर्सियल बैंकको औसत २० देखि २५ को बीच पर्छ । त्यसैले हामीले त्योभन्दा बढी ईपीएस भएका सेयर रोज्दा राम्रो हुन्छ । 

एउटा महत्वपूर्ण कुरा ख्याल राख्नुपर्ने हुन्छ । यसरी तुलना गर्दा एउटै फाँट वा उस्तै व्यवसायका कम्पनीको मात्र तुलना गर्न मिल्छ। बैंक र होटेलको तुलना गर्नु बुद्धिमानी हुन्न नि ! 

तपाइँले नगद ईपीएसलाई पनि हेर्न सक्नुहुन्छ । यो चाहिँ बेसिक ईपीएसभन्दा अलिक कन्जरर्भेटिभ छ। यसले कम्पनीले हरेक सेयरबापत कति नगद कमाएको छ भन्ने हेर्छ। बेसिक ईपीएसजस्तै यो पनि जति धेरै भयो उति राम्रो मानिन्छ।

अब अर्को छ खुद मुनाफा मार्जिन । यसले एउटा बिक्रीबाट कम्पनीले कति मुनाफा कमाउन सक्छ भन्ने कुरा बताउँछ। यसलाई प्रतिशतमा व्यक्त गरिन्छ। यसको ५ बढी हुनुको मतलब कम्पनीले ग्राहकलाई धेरै मूल्यमा सामान र सेवा बेच्न सकेछ र कम्पनीको गोजीमा टन्न मुनाफा बस्छ। त्यही भएर खुद मुनाफा चाहिँ हेरेकै राम्रो हो।

फेरि अर्को हेरौँ कर्जा स्वपुँजी अनुपात, वा डेब्ट ( इक्विटी अनुपात वा लेभेरेज वा गियारिङ, धेरै वटा नाम है ? जेहोस् यो अनुपातले कम्पनीको वित्तीय स्रोत संकलन कसरी भएको छ भन्ने बताउँछ। धेरै कर्जा भएका कम्पनी प्रायः जोखिमपूर्ण हुन्छन् किनकि यदि कम्पनी घाटामा गयो भने पनि त्यसले आफ्नो कर्जा चुक्ता गर्नैपर्छ । जसले गर्दा कम्पनी टाँट पल्टिन पनि सक्छ । यस्तो कम्पनीमा त तपाइँ पक्कै लगानी गर्न चाहनुहुन्न होला । त्यसैले सधैँ थोरै कर्जा भएको कम्पनी रोज्नुपर्छ। सामान्यतः यो अनुपात ०.५ भन्दा कम भएको राम्रो मानिन्छ। 

त्यसपछि अर्को आउँछ आरओसीई (रिटर्न अनक्यापिटल इम्प्लोइड) यसले कम्पनीले कति कुशलतापूर्वक आफ्नो पुँजीको उपयोग गरेको छ भन्ने कुरा नाप्छ। धेरै आरओसीई भएको कम्पनी लगानीका लागि राम्रो हो किन भने यसले आफ्नो वित्तीय स्रोतहरुमाथि कम्पनीको राम्रो पकड भएको र व्यवसाय राम्ररी चलाउन सक्छ भन्ने जनाउँछ।

अघि बढौँ, प्रतिसेयर लाभांश हेरौँ। यसका लागि सर्वप्रथम लाभांश भनेको के हो बुझौँ। लाभांश भनेको कम्पनीको मुनाफाको अंश हो जुन कम्पनीले आफ्ना सेयरधनीहरुलाई बाँड्छ। एकनाशको र बढ्दो प्रवृतिको सेयर लाभांश भएको कम्पनी आकर्षक लगानी हो । जसले लगानीकर्तालाई सेयर नबेच्ने कारण दिइराख्छ। 

त्यसैगरी पीई अनुपात र पीईजी अनुपात अरु परिसूचकहरु हुन्, जसबाट सेयर हुनुपर्ने भन्दा कममा मूल्यांकन भएको हो कि हैन थाहा पाइन्छ। यी अनुपात कम भएकै राम्रो मानिन्छन्। तपाइँले कम मूल्यांकन भएका सेयरमा लगानी गर्नुपर्छ । जसको मूल्य धेरै रुपैयाँले वृद्धि हुनसक्छ । तर मैले पहिले भनेझैँ फेरि पनि भन्छु यीमध्ये कुनै पनि परिसूचकलाई एक्ला–एक्लै हेरर लगानीको निर्णय लिनुहुँदैन।

खुंखार लगानीकर्ता वारेन बफेटले भनेका छन्, “म सेयरमा लगानी गर्दिनँ म व्यवसायमा लगानी गर्छु ।’ त्यसैले यो बुझ्नु र केलाउनुपर्ने महत्वपूर्ण कुरा हो कि तपाइँ केमा लगानी गर्दै हुनुहुन्छ? त्यो कस्तो प्रकारको व्यवसाय हो? त्यो कतिको बढ्न सक्छ? के त्यसको राम्रो भविष्य? यसका लागि तपाइँले कम्पनीको वित्तीय विवरण पढ्नुपर्ने हुन्छ। मैले अघि भनेझैँ यो कम्पनीको वेबसाइटमा वा लगानीकर्ता सेक्सनमा पाइन्छ। तपाइँले सूक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ। 

आजैबाट तपाइँले एउटा कुरा गर्न थाल्नुपर्ने हुन्छ । यदि तपाइँ सेयरमा लगानी गर्न चाहनुहुन्छ भने कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पढ्ने। धेरैजनाले पुराना ३ वर्षका प्रतिवेदन पढ्न रुचाउनुहुन्छ। यसो गर्नाले कम्पनीले के–के गरी आउँदैछ, आफ्ना लागि के–कस्ता उद्देश्यहरु लिएको छ र कतिको लक्ष्यहरू पूरा गरेको छ भन्नेबारे राम्रो दृष्टिकोण पाइन्छ। व्यवसायको उद्देश्य स्पष्ट भए–नभएका आधारमा कम्पनीका व्यवस्थापक कतिका प्रोफेसनल र महत्वाकांक्षी छन् भन्ने बुझ्न सकिन्छ ।

त्यसपछि भविष्यका योजनाहरुमा हेर्नुहोस्। कम्पनीको भविष्यका योजनाहरू हेरेर, तपाईंले कम्पनीको नेतृत्व कुन दिशामा छ भन्ने ज्ञान पाउन सक्नुहुनेछ। के कम्पनीले नयाँ व्यवसाय सुरु गर्न गइरहेको छ, के यसले आफ्नो हालको व्यापार विस्तार गर्ने सोचमा छ? के कम्पनीले विदेशमा शाखा खोल्ने योजना बनाइरहेको छ? त्यस्ता सबै प्रश्नहरूको जवाफ कम्पनीको भविष्यका योजनाहरूको विश्लेषण गरेर पाइन्छ। यी सबै चरणहरू पार गरिसकेपछि अब हामी यो पत्ता लगाउन सक्दछौं कि कम्पनी भविष्यमा कस्तो देखिन्छ? कस्तो प्रकारको आयको आशा गर्न सकिन्छ? र आगामी ३ देखि ५ वर्षमा नाफा कस्तो हुनसक्छ? अब तपाइँ ठ्याक्कै सही संख्या अनुमान गर्न सक्नुहुन्न होला तर तपाईं पक्कै पनि सरदर उचित अनुमान गर्न त सक्नुहुन्छ ।

अर्को महत्वपूर्ण कदम आफैँ  ब्रेनस्टोर्म गर्नु हो। यसका लागि सबै तार्किक र तर्कसंगत कारणहरू लेख्नुहोस् । किन मैले यो कम्पनीको स्टकमा लगानी गर्नुपर्छ वा गर्नुहँुदैन? भनिन्छ कि– “कम्पनीको पूर्ण विश्लेषण गरेपछि यदि तपाइँ किन स्टकमा लगानी गर्नुपर्दछ भन्ने तर्कसंगत कारणहरूले एक पृष्ठ भर्न सक्नुहुन्न भने तपाइँले लगानी गर्नुहुँदैन, नगरेकै जाति।’

अब अन्तिम र सबैभन्दा महत्वपूर्ण चरण सही मूल्यका लागि पर्खिनु हो। कम्पनी राम्रो र लगानी गर्न लायक हुनुको मतलब यो होइन कि तपाइँले झ्याम्मै हामफाली हाल्नुपर्छ। तपाइँले बजार सुधार (मार्केट करेक्सन) का लागि पर्खनुपर्दछ,  कम मूल्यमा स्टक किन्नका लागि। तपाइँ अनुशासित र धीर हुनुपर्दछ। त्यसपछि अब पालो लामो पर्खाइको रहेको छ ।  तपाइँको लगानीलाई बढ्नका लागि समय दिनुहोस्। जब तपाइँ स्टक बेच्ने समय भएको महसुस गर्नुहुन्छ, तपाइँ प्रत्येक र्यालीमा थोरै परिमाणमा बेच्न सक्नुहुनेछ। तपाइँलाई दुःखको कामजस्तो लाग्ला तर विश्वास गर्नुस् तपाइँको मेहनतको फल मीठो हुनेछ।

(लेखक एसीसीए अध्यनरत छात्र हुन्। उनी पूँजीबजार वित्त–अनुसन्धान तथा लेखनकार्यमा पनि लामो समयदेखि संलग्न छन्।)