काठमाण्डौ । नेतृत्व गर्ने एउटा मान्छेको भूमिकाले कुनै पनि कम्पनीको अवस्था कति फरक हुन्छ भन्ने उदाहरण बनेको छ कैलाश विकास बैंक । धेरै कमाउने ध्याउन्नमा विचारै नगरी जथाभावी लगानी गर्दा अघिल्लो आर्थिक वर्षसम्म प्रमुख सूचकहरुमा देशकै टप विकास बैंकमा आफूलाई उभ्याइरहेको यो बैंकको खूद नाफातर्फ चालुु आर्थिक वर्षमा भने पहिरो गएको छ ।  

कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कृष्णराज लामिछाने रहुञ्जेल यो बैंकको अवस्था राम्रो थियो । उनले बैंक छाडे लगत्तै अमृतचरण श्रेष्ठ सीइओको रुपमा भित्रिएका थिए । श्रेष्ठले व्यवस्थापकीय चमात्कार देखाउन नसक्दा र जथाभावी लगानी गर्दा बैंकको अवस्था यति धेरै कमजोर बनेको हो । बैंकस्थित स्रोतका अनुसार कैलाश विकास बैंकको नयाँ नेतृत्वले सेयर कर्जाको रुपमा निकै सस्तो दरमा १ अर्ब बढी लगानी गरेको थियो । १२ प्रतिशत ब्याजदरमा निक्षेप लिएर साढे १३ प्रतिशतमा कर्जा परिचालन गर्ने महाभूलकै कारण नाफामा पहिरो गएको बैंकका एक अधिकारीले बताए । 

कैलाश विकास बैंकले आइतबार प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नाफा घटेर ९ करोड ७२ लाखमा सीमित बन्न पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा १३ करोड १ लाख बढी थियो । 

जथाभावी लगानी गरेका कारण खूद ब्याज आम्दानीतर्फ पनि पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २१ करोड २१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर यो वर्ष १५ करोड ४५ लाखमा सीमित बन्न पुुगेको छ। 

समीक्षा अवधिमा कैलाश विकास बैंकले १८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १५ अर्ब ३३ करोड निक्षेप संकलन गरी १३ अर्ब ९८ करोड कर्जा परिचालन गरेको थियो । निक्षेप र कर्जा परिचालन बढे पनि आम्दानी तथा नाफा बढ्न नसक्नुुको मुख्य कारण जथाभावी लगानी र नेतृत्वको कमजोर निर्णय क्षमता नै देखिएको छ । 

९९ करोड रहेको रिजर्ब कोष बढाएर १ अर्ब ८ करोडको उचाईमा पुर्याएको छ । समीक्षा अवधिमा बैंकले खराब कर्जालाई केही घटाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.९८ प्रतिशत रहेको खराब कर्जा  घटाएर ०.९१ म झारेको हो । ४.७८ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ८.७७ प्रतिशत पुुगेको छ।

पूँजीमा भएको भारी वृद्धि अनुसार व्यवसाय बिस्तार गर्न नेतृत्व असफल बन्दा सोही अनुसारको नाफा आर्जन हुन सकेन । नाफातर्फ पहिरो गएको कारण प्रतिसेयर आम्दानीमा पनि ठूलै पहिरो गएको छ । अघिल्लो आबको पहिलो त्रैमाससम्म ३२.९६ रुपैयाँ रहेको यो बैंकको प्रतिसेयर आम्दानी घटेर १६.९७ रुपैयाँमा सीमित बन्न पुुगेको हो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.०८ गुणा कायम भएको छ । २१.३० प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ११.८६ प्रतिशतमा सीमित बन्न पुुगेको छ ।