काठमाण्डौ । सेयर धितो कर्जाको सीमा घट्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको यसअघिको सीमा घटाउने नीति लिएको हो । 

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर धितो कर्जाको सीमामा पुनरावलोकन हुने घोषणा गरे । 

यो विषयमा प्रष्ट पार्दै डा. भट्टले बजारको अहिलेको अवस्थाका कारण सेयरधितो कर्जाको सीमा घटाउने गरी यो नीति आएको बताए । 

उनका अनुसार ओभरडाफ्ट लगायतका कर्जाहरु समेत सेयर बजारमा जान थालेपछि यसलाई नियमनको सही समयको रुपमा विश्लेषण गर्दै पुनरावलोकनको निर्णय गरिएको बताए । 'यस्तो बेलामा सेयर धितो कर्जाको सीमा बढाउने कुरै आउदैन, घटाउने हो ।' उनले बिजशालासँग भने ।  

अहिले कायम सीमामा कति प्रतिशतले घट्छ भन्ने विषय चाहिँ सर्कुलरमार्फत आउने उनले जानकारी दिए । 

यसअघि मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको थियो । त्यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । अहिलेको ७० प्रतिशतको सीमा अब घट्ने भएको हो।