– भक्तराज रसाइली

काठमाण्डौ। नेपालमा बर्सेनि श्रम बजारमा ५ लाख हाराहारीको संख्यामा प्रवेश हुन्छ। वैदेशिक रोजगारीमा मात्र दैनिक सरदर १५ सय जनाले नेपाल छाड्छन्। तर हिजोआज युवाहरु सेयर बजारमा छिर्ने र यसैलाई पेसाका रुपमा अघि बढाउनेको जमात दिनानुदिन बढ्दै गइरहेको छ।

व्यवस्थापन विषय पढेकाले मात्र सेयर बजारमा पैसा कमाउन सक्छन् भन्ने मान्यता पनि तोडिदै गइरहेको वर्तमान परिस्थितिमा सेयर बजारमा युवा क्रेज अचाक्ली छ।

अर्थतन्त्रकै धरोहरका रुपमा रहेको र विभिन्न उद्योगधन्दा र व्यापारव्यवसायका लागि पूँजी जुटाउने भरपर्दो र विश्वसनीय स्रोतका रुपमा रहेको पूँजीबजारमा सक्रिय केही प्रतिनिधि युवाहरुलाई यहाँ प्रस्तुत गर्न गइरहेका छौँ।

अमिर तिमिल्सिना

स्थायी घर गोरखा भई हाल काठमाण्डौ वनस्थली निवासी ३२ वर्षीय अमिर सेयर बजारमा प्रवेश गरेको केबल अढाइ वर्षमात्रै हुँदैछ। बजार प्रवेशकै छोटो समयमा स्वअध्ययन र मेहनतले उनी राम्रा लगानीकर्ताको छवि बनाउन सफल भएका छन्। सहकारी संस्थामा कार्यरत उनी बजारले बुलिस ट्रेन्ड समातिसकेकाले जागिर छाडेर नै सेयर बजारमा पूर्णकालीन लगानीकर्ताका रुपमा सक्रिय हुने योजना रहेको बताउँछन्। 

अढाइ वर्षअघि पत्रपत्रिकामा नेप्से परिसूचक घट्दै गइरहेको समाचार पढेर बजार प्रवेश गरेका अमिरले महिनाकै सरदर ३ लाख रुपैयाँ कमाउने गरेको दाबीसमेत गरे। उनले सेयर बजारमा प्रवेश गर्न अघि सेयर बजारसँग सम्बन्धित भारतीय युट्युब च्यानलबाट ज्ञान हासिल गरेको सुनाए। 

सेयर बजारमा प्रवेश गर्दा ४० लाख रुपैयाँ बोकेर सेयरबाट करोडपति बन्ने सपना बुनेका अमिरले पछिल्ला समयमा सेयर बजारबाटै मनग्यै आम्दानी गर्दै आइरहेका छन्।

विशाल कडरिया

झापा स्थायी घर भई हाल काठमाण्डौ बबरमहलमा बस्दै आइरहेका २९ वर्षीय विशाल जीवविज्ञानका विद्यार्थी हुन्। उनी हाल एमबीए पनि अध्ययनरत छन्। 

हाल विशाल बबरमहलमा रहेको आइन्स्टाइन ब्वाइज होस्टलका सञ्चालक पनि हुन्। इकमर्स व्यवसायी र लेक्चरर उनी सेयर बजारमा १ दशक अघि प्रवेश गरेका हुन्। दोस्रो बजारमा भने विगत ६ वर्षदेखि सक्रिय उनले सेयर बजार प्रवेश गर्दा ५० हजारबाट लगानी सुरु गरेको बताउँछन्। बजारले राम्रै कमाइ र रिटर्न दिइरहेको दाबी गरेका उनले अब बढ्दो बजारमा मज्जाले पैसा कमाउने योजना बुनेका छन्। 

सेयर बजारमा उज्ज्वल भविष्य देखेर होमिएका विशाल सेयर बजार नशा नै रहेको धारणा राख्छन्। क्षमता अनुसार सेयर बजारमा लगानी बढाउने उनले युवाहरुलाई सेयर बजारमा सुनौलो भविष्य रहेको बताउँछन्।

सुजन बानियाँ

काठमाण्डौ चाबहिलका स्थायी बासिन्दा सुजन सानै उमेरदेखि व्यापारव्यवसायमा होमिए। विगत १० वर्षदेखि रिकण्डीसन व्यवसाय (पुराना मोटरसाइकल वा गाडी खरिदबिक्री गर्ने ठाउँ) सम्हाल्दै आइरहेका २७ वर्षीय सुजनलाई सेयर बजारमा भद्र युवा लगानीकर्ता र कुस्त कमाउने लगानीकर्ताका रुपमा परिचित छन्। 

त्यसो त सेयर बजारमा सुजनको प्रवेश केवल ३ वर्षमात्र भयो। करिब ५० लाख रुपैयाँ बीउ पूँजी लिएर सेयर बजार छिरेका उनको पोर्टफोलियो घटेर आधा भयो तर अध्ययन र कडा मेहनतले पोर्टफोलियोलाई कयौँ गुणा बढाएको उनले दाबीसमेत गरे। 

सेयर बजारमा नै सक्रिय भएपछि बीबीएस अध्ययन स्किप गरेको जिकिर गर्दै सुजन हाल बीएसडब्लू अध्ययनरत रहेको बताउँछन्। सेयर बजारबाट मनग्यै पैसा कमाएका उनलाई पछि सूचीकृत कम्पनीको बोर्ड सञ्चालक वा व्यवस्थापनमा पनि इच्छा भएकाले अहिले अध्ययनलाई पुनः सुचारु गरेको बताउँँछन्। सेयर बजारका विषयमा प्राविधिक ज्ञान लिएर आएका उनले धेरै समय स्वअध्ययनलाई जोड दिन्छन्। 

कृषि विकास बैंकको अक्सन मार्केटबाट प्रतिकित्ता रु. ३९० मा खरिद गरी प्रतिकित्ता रु.४२० मा बिक्री गर्न सफल भएपछि सुजनमा समेत सेयर बजारको नशा चढेको रहेछ। हाल मासिक ५ लाख रुपैयाँ सम्म सेयर बजारबाट आम्दानी गरिरहेका उनले सेयर बजार नशा नै भएको सुनाए। दीर्घकालीन रुपमा सेयर बजारलाई नै पेसाका रुपमा लैजाने उनको योजना छ।

सरोज भट्टराई

ताप्लेजुङ स्थायी घर भएका सरोज काठमाण्डौ पुतलीसडकमा रहेका सेक्युरिटिज रिसर्च सेन्टर सर्भिसेज (एसआरसीएस)मा सेयर बजारका प्रशिक्षक हुन्। सेयर बजारबारे ज्ञान बाँड्दै देशभर हिँडेका २७ वर्षीय सरोज आफैँ पनि विगत एक दशकदेखि सेयर बजारमा सक्रिय छन्। 

हालसम्म कुनै जागिरमा नहोमिएका सरोज तालिमबाट मात्रै वर्षको सरदर ७ लाख रुपैयाँ आम्दानी भइरहेको दाबी गर्छन्। सेयर बजारमा सिक्दै सिकाउँदै अघि बढेका उनी युवाहरुका निम्ति सेयर बजार उज्ज्वल भविष्य बनाउने प्लेटफर्म रहेको बताउँछन्।

सुवास रिजाल

सुनसरी इटहरीनिवासी सुवास बीबीएस अध्ययनरत रहँदादेखि प्राथमिक बजारमा सक्रिय थिए। बुवाको अवसानपछि पुख्र्यौली सम्पत्ति ९ बिघा जग्गाबाट उत्पादित फसलको आम्दानी बैंकमा नराखी सेयर बजारमा लगानी गर्र्दै आइरहेका ३३ वर्षीय सुवासले हालसम्म कहीँकतै रोजगारी गर्नुपरेको छैन। कृषि विकास बैंकको आईपीओबाट सेयर बजार छिरेका उनी जग्गा खरिदबिक्रीमा पनि सक्रिय छन्। 

फस्ट माइक्रोफाइनान्सको सेयर ८० हजार लगानीबाट सुरुवात गरेका सुवासले सेयरकै कमाइबाट इटहरीमै जग्गासमेत जोडेको दाबी गर्छन्। महिनाको करिब १ लाख रुपैयाँ आम्दानी गर्दै सेयर बजारलाई नै पेसा बनाइरहेका उनी दीर्घकालसम्म सेयर बजारमा नै सक्रिय हुने सुनाउँछन्।

रवीन्द्र भण्डारी

रवीन्द्र सुदूरपश्चिम कञ्चनपुर जिल्लाका हुन्। २८ वर्षीय रवीन्द्र यही वर्षदेखि आईपीओमार्फत सेयर बजारमा प्रवेश गरेका छन्। सफ्टवेयर इन्जिनियर पढेका उनी अहिले सो विषय पढेर पैसा, जवानी र समय फजुल भएको जिकिर गर्छन्। इन्जियर पढ्ने पैसा सेयर बजारमा खन्याएको भए मालामाल हुने दाबी गरेका रवीन्द्रले बुद्धिमतापूर्ण तवरले अब केही दिनभित्र दोस्रो बजारमा धमाकेदार प्रवेश गर्ने बताए। आईटी इन्जिनियर रवीन्द्रले आईटीमा दिमाग खियाउनुभन्दा बुद्धिमतापूर्ण तरिकाले सेयर लगानीबाट अथाह पैसा कमाउने धारणा राखे।

आकाश अधिकारी

नवलपरासी गैंडाकोटनिवासी आकाश बीएससी सीएसआईटीका विद्यार्थी हुन्। २३ वर्षीय आकाश काठमाण्डौमा होस्टलमा बसेर अध्ययन गर्दै गर्दा एक आर्थिक पत्रकारबाट प्रभावित भई सेयर बजारमा होमिएका पात्र हुन्। खाजा खर्च जोगाउँदै करिब डेढ वर्षअघि आईपीओको लगानीबाट सुरुवात गरेका आकाशले ५० हजार लगानीबाट दोस्रो बजारमा प्रवेश गरे। 

कोरोना महामारीका कारण हाल घरमै बसेका आकाशले आफ्ना बाबाबाट केही पैसा लिई दोस्रो बजारमा लगानी गर्र्दै आइरहेको बताउँछन्। सेयर बजारबाट पनि राम्रै कमाइ भइरहेकामा दंग आकाश आफ्नो आईटी क्षेत्रसँगसँगै सेयर लगानीलाई पनि अघि बढाउने योजना रहेको बताउँछन्।

दर्शन दाहाल

भक्तपुरनिवासी दर्शन सिभिल इन्जिनियरिङका विद्यार्थी हुन्। २० वर्षीय दर्शनले आफ्ना बाबुको पोर्टफोलियो समेत अहिले आफैंले सम्हाल्दै आफ्नै ५ लाख रुपैयाँबाट १ वर्षदेखि सेयर बजारमा सक्रिय छन्। 

इन्जिनियरिङका विद्यार्थी भए पनि सेयर बजारमा आनन्द लिइरहेको बताउने दर्शन सेयर बजारमा प्यासनले आएको जिकिर गर्छन्। उनी पनि सेयर बजारमा दीर्घकालीन लगानी गर्न रुचाउँछन्।