काठमाण्डौ । बैंकिङ समूहका बहार आएको दिन सेयर बजारमा आज ५ वटा नयाँ कीर्तिमान कायम भएका छन् । 

कारोबार सुरु भएदेखि नै बैंकिङ समूह चम्किएका कारण नेप्से परिसूचक, कारोबार रकम, कारोबार संख्या र कारोबारमा आएका सेयर संख्याले पुराना रेकर्डहरु ब्रेक गर्दै नयाँ इतिहास रचेका हुन् । 

आज नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको छ । नेप्सेको यो हालसम्मकै सर्वाधिक उचाईको कीर्तिमान हो । गत बिहीबार नेप्सेले चार वर्षअघिको अलटाइम हाईको रेकर्डलाई ब्रेक गरी आफ्नो बुलिस प्रवृति पुष्टि गरेको थियो । 

यस्तै, यो दिन ९ अर्ब २२ करोडरुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । एकैदिन यति ठूलो रकमको सेयर कारोबार भएको समेत आज पहिलोपटक हो । गत बिहीबार ८ अर्ब हाराहारीको कीर्तिमान बनेको थियो । त्यो कीर्तिमानलाई तोड्दै साताको पहिलो कारोबार दिन आइतबारको बजारले कारोबार रकमको समेत नयाँ रेकर्ड बनाएको हो । 

यो दिन हालसम्मकै सर्वाधिक २ करोड ५९ लाख ४५ हजार बढी कित्ता सेयरको कारोबार भएको छ । यो पनि नयाँ कीर्तिमान हो । 

यस्तै, एकैदिन ८० हजार २७१ वटा भन्दा बढी कारोबार भएका छन् । यो पनि हालसम्मकै सर्वाधिक कारोबार भएको रेकर्ड हो । 

दुईसय कम्पनीको सेयर किनबेच भएको यो दिन बजार पूँजीकरणले पनि नयाँ कीर्तिमान बनाउने प्रष्ट देखिएको छ । यसअघि बिहीबार २५ खर्ब ३७ अर्बको बजार पूँजीकरणको कीर्तिमान कायम भएको थियो । आज यो कीर्तिमान समेत तोडिएको छ ।