काठमाण्डौ । आज मंगलबार पूँजीबजारमा २२ लाख लगानीकर्ता पुगेका छन् । अर्थात् कुल जनसंख्याको ७.३३ प्रतिशत मानिसहरुको पहुँच पूँजीबजारमा पुगेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार आज(मंगलबार)सम्म डिम्याट खाता खोल्नेको संख्या २१ लाख ९९ हजार ६७ पुगेको र कुल जनसंख्याको ७.३३ प्रतिशत पूँजीबजारमा प्रवेश गरेका देखिएको हो । 

प्राथमिक बजार देशभरका ७७ जिल्लामा पुगेको छ भने विद्युतीय माध्यमबाटै प्राथमिक बजार(आइपीओ)मा प्रवेश गर्ने लहर नै चलेको छ । योसँगै दोश्रो बजारमा पछिल्लो समय बुलिस ट्रेण्ड सुरु भएकोले पनि आगामी दिनमा यो संख्या अझै बढ्ने जानकारहरु बताउँछन् ।

हाल प्राथमिक बजार मात्रै नभई नेप्सेको पूर्ण अनलाइन प्रणालीले समेत देशभरका ७७ जिल्लामै दोस्रो बजारसम्मको सहज पहुँच पुगेको नेप्सेले जनाएको छ ।

देशभर रहेका ७६ डीपी कम्पनीहरु र ६४ बैंक तथा वित्तीय संस्थाहरु सिआस्वामा दर्ता भएकाले देशभरका शाखाहरुबाट डिम्याट खाता खोल्ने र पछिल्लो समयमा केही डीपीहरुले अनलाइनबाटै डिम्याट खोल्ने सुविधाले समेत बजारको दायरा र आकार दिनानुदिन बढिरहेको छ । नेपालको सेयर बजार हाल प्रवासी नेपालीहरुसम्म विश्वका कुनाकाप्चासम्म पनि पुगिसकेको छ । 

हाल कोभिड १९ ले पर्यटन, उद्योग, व्यापार, व्यवसाय, सेवा, रोजगारीमा नराम्रो प्रभाव पारेकाले ती क्षेत्रबाट वैकल्पिक पेशा र आयआर्जनको बाटो बनाउन ठूलो संख्यामा हिजोआज पूँजीबजारमा प्रवेश गर्न चाहनेको जमात बाक्लिँदै गइरहेको छ। 

पछिल्ला समयमा ठूलो पूँजी भएका कम्पनीहरु पूँजीबजारमा प्रवेश गर्ने लहडसँगै पूँजीबजारको आकर्षण बढेको छ । दोस्रो बजारमा भन्दा जोखिम कम हुने धारणा भएकाले समेत प्राथमिक बजारमा प्रवेश गर्नेको ओइरो निकै लागेको देखिन्छ । अन्ततोगोत्वा प्राथमिक बजार हुँदै त्यो ठूलो जमात दोस्रोबजारमा नै प्रवेश गर्ने भएकोले समेत पछिल्लो समय लगानीकर्ताको संख्या बढिरहेको हो ।