काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार आव २०७६/७७ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै सेयर धितोकर्जाको विषयमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । 

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर धितो कर्जाको सीमा घटाइने प्रष्ट पारेका छन् । हाल ७० प्रतिशतको सीमामा रहेको यस्तो कर्जाको सीमा राष्ट्र बैंकले घटाउने गरी मौद्रिक नीतिको समीक्षा आएको हो । 

राष्ट्र बैंकले निकट समयमा नै सेयर धितोकर्जामा पुनरावलोकन गर्न सर्कुलर जारी गर्ने बताएपछि पूँजीबजार तरङ्गित भएको छ । हाल सेयर धितोकर्जा मार्जिनमा ७० प्रतिशत रहेकोमा राष्ट्र बैंकले मार्जिन पुनरावलोकन गर्ने भएपछि सेयर बजारमा छाएको उत्साहमाथि कालो ग्रहण पो लाग्ने हो कि भन्दै चर्चा र बहस हुन थालेका छन् । यदि राष्ट्रबैंकले सेयर मार्जिन लेण्डिङको सीमा घटाएमा बजार तल झर्ने आँकलन समेत हुन थालेको छ ।

नेपाल राष्ट्रबैंकले समीक्षा गर्ने क्षेत्राधिकार रहेको छ, तर छोटो छोटो समयमा नीतिगत परिवर्तन हुनु राम्रो नभएको सेयर बजार विश्लेषक हेमन्त बस्यालको भनाई छ । 'अहिले आयातमा कमी हुँदा अधिक तरलता देखिनु स्वभाविक छ, तर यो अवधि आगामी ७-८ महिनामै सामान्यअवस्था तर्फ जान्छ र बजारमा सन्तुलन कायम हुन्छ',उनले बिजशालासँग भने । 

राष्ट्रबैंकले अहिले दीर्घकालीन डिबेञ्चर जारी गर्ने र सरकारले विकास खर्च गर्ने उपयुक्त समय भएको उनको दाबी छ । 

चार वर्ष बजार बियरिस ट्रेण्डमा रहँदा राष्ट्रबैंक चुपचाप बस्ने तर, मार्जिनको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत बढाएको ३ महिनामै पुनरावलोकन गर्ने राष्ट्र बैंकले अहिले नै समीक्षा गर्ने बेला नभएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । उनले बिजशालासँग भने-'सेयर बजारमा अहिले पनि करिब ८० प्रतिशत बैंकका सेयर छन्, आत्तिहाल्नुपर्ने अवस्था छैन ।' 

अहिले ३ महिना पनि नबित्दै सेयर धितोकर्जाको सीमा संसोधन गर्नु उचित नभएको उनले दाबी गरे । ५ वर्षपछि भर्खरै सेयर बजार तङ्ग्रिदै गरेको अवस्थामा अहिले नै राष्ट्रबैंकले हस्तक्षेप गर्नु गलत भएको उनको भनाइ छ । '५ वर्षमा कुनै सम्पत्ति डबल हुनुपर्छ तर नेप्सेको उचाइ ३७०० हुँदा लगानीकर्ताको सम्पत्ति अनि मात्रै डबल हुन्छ । कुनै पनि सेक्टरमा ५ वर्ष लगानी गर्दा स्वतः डबल हुन्छ ।'-उनले थपे । 

अहिले नै अत्तालिएर बजारमाथि हस्तक्षेप गरे राष्ट्र बैंकविरुद्ध आवाज उठाउने उनले जिकिर गरे । नेप्से ३७०० विन्दू पुग्दासम्म पनि नेपाल राष्ट्र बैंक आत्तिहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ ।