काठमाण्डौ । सेयर धितो कर्जाको सीमा घटाउने विषयमा नेपाल राष्ट्रबैंकले तत्काल कुनै सर्कुलर जारी नगर्ने भएको छ । 

राष्ट्रबैंकले गत साता मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको थियो । जसमा सेयर धितो कर्जामा पुनरावलोकन गर्ने भनिएको थियो । 

समीक्षा लगत्तै बिजशालासँग कुरा गर्दै राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकिङ प्रणालीमा अधिक तरलता भएको समयमा अन्य क्षेत्रमा जानुपर्ने कर्जा समेत क्यापिटल मार्केटमा गएको भन्दै यसलाई नियन्त्रण गर्न सेयर धितो कर्जाको सीमा घटाउने प्रष्ट पारेका थिए । 

तर, आइतबार राष्ट्रबैंकका निमित्त प्रवक्ता नारायणप्रसाद पोखरेलले भने सेयर धितो कर्जाको सीमाको विषयमा तत्काल पुनरावलोकन नगर्ने प्रष्ट पारेका हुन् । ‘हामी यो विषयमा हतारो गर्दैनौ ।’ उनले बिजशालासँग भने–‘केही दिनसम्म हेर्छौ र त्यसपछिको अवस्था हेरेर मात्र सर्कुलर जारी गरिनेछ ।’ 

उनले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुअघिसम्म बैंकिङ प्रणालीमा २०० अर्ब अधिक तरलता रहेको र त्यो घटेर १५० अर्बमा सीमित बन्न पुगेको उल्लेख गर्दै विभिन्न क्षेत्रमा कर्जाको माग बढ्न थाल्यो भने सेयर धितो कर्जाको सीमा सम्बन्धी अहिलेको व्यवस्था केही समय यथावत हुने संकेत गरे । ‘तर, ठीक विपरीत कर्जाका माग बढ्दै बढेन र तरलता अझै बढ्दै गयो भने हामीले टाइट गर्नैपर्छ ।’ उनले थपे–‘यसैका लागि हामीले केही दिन कुरेर अवस्था हेर्ने र आवश्यक विश्लेषण गरी थप निर्णय लिने निश्कर्ष निकालेका हौं ।’ 

नायव प्रवक्ता समेत रहेका पोखरेलले धितोपत्र बोर्डले समेत लगानीकर्तालाई सचेत गराइसकेको उल्लेख गर्दै यस पछाडिको कारण क्यापिटल मार्केटमा प्रणालीको अधिक तरलता थुप्रिएको र यसले समग्र प्रणालीलाई प्रभावित पार्नसक्ने अवस्था देखिएको दाबी गरे । ‘धितोपत्र बोर्डले पनि सचेत भएर लगानी गर्न भनिसकेको छ । तर, यही बेला बैंकबाट अन्य शीर्षकमा लोन निकालेर क्यापिटल मार्केटमा लगानी गर्ने र चलखेल गरी १० दिनम मालामाल बन्न प्रवृति मौलायो ।’ उनले थपे–‘दशौं वर्षदेखि लगानी गरेर कुरिरहेकाहरु भने हेरेका हेर्य हुने अनि १० दिनअघि बजार छिरेकाहरु चाहिँ मालामाल हुने अवस्था राम्रो भएन ।’ 

उनले राष्ट्रबैंकको एउटा टिमल डे टूडे ब्याजदर तथा क्रेडिट डिमाण्डको अध्ययन गरिरहेको र केही दिनसम्म अध्ययन गरी सोही आधारमा उच्च व्यवस्थापनलाई रिपोर्ट बुझाउने र सोही रिपोर्टका आधारमा थप निर्णय लिइने बताए । 

‘प्रणालीमा अधिक तरलता भए त्यो पैसा अनुत्पादक क्षेत्रमा जाने, कर्जाका क्वालिटी घट्ने जस्ता समस्या आउँछन् ।’ उनले थपे–‘प्रणालीमा ५० अर्ब तरलता अधिक हुनु सामान्य मानिन्छ, त्योभन्दा बढी भइरह्यो भने त्यो अधिक हो । त्यसको व्यवस्थापन गर्नैपर्छ ।’ 

उनका अनुसार लगानीका अन्य क्षेत्र सुषुप्त बनेको अवस्थामा पछिल्लो समय क्यापिटल मार्केट सलबलाएकोर यहाँ चलखेल हुन थालेपछि यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरे । ‘यही गतिमा क्यापिटल मार्केट अगाडि बढ्यो भने सबै लगानी त्यहाँ जाने भयो, यसलाई नियन्त्रण गर्न खोजिएको हो ।’ उनले थपे–‘पछिल्लो दिनका संकेत क्रेडिटडिमाण्ड ओभरनाइट बढ्ला भन्ने जस्तो छैन । यसका लागि समय लाग्छ ।’