– अर्जुन तिमिल्सिना

काठमाण्डौ । हिजोआज सेयर बजारमा चमक आइरहेको छ। नयाँदेखि पुराना लगानीकर्ताहरु अहिले सक्रिय रुपमा दोस्रो बजारमा सेयर कारोबार गरिरहेका छन्। प्राथमिक बजारको आकर्षण उत्तिकै बढेको छ।

यतिबेला स्कुले केटाकेटीदेखि घरभित्र सीमित गृहिणीसम्म सेयर बजारमा लगानी गरिरहेका छन्। तिनै लगानीकर्तामध्ये हामीले आज केही गृहिणीलाई यहाँ प्रतिनिधि पात्रका रुपमा उभ्याएका छौँ । उनीहरुको अनुभव र सेयर बजारप्रति नशाबारे यहाँ प्रस्फुटन गर्न खोजेका छौँ ।

प्राथमिक बजारहुँदै सेयर बजारमा प्रवेश गरेकी सबी रेग्मी अहिले सक्रिय सेयर कारोबार गर्छिन्। उनले सुरुमा सनराइज बैंकको आईपीओ भरेकी थिइन्। दोस्रो बजारमा भने आफू एनआईसी एसिया बैंक र एनएमबी बैंकको सेयर किनेर प्रवेश गरेको सबी बताउँछिन्।

आफूसँग अहिले त्यति धेरै मात्रामा सेयर नरहेको सबीको भनाइ छ। ‘भर्खरै काठमाण्डौको तार्केश्वरमा घर बनाएका छौँ, घर बनाउँदा मैले ४०–५० लाख रुपैयाँको सेयर बेचेर हालेँ’, उनले भनिन्, ‘अब विस्तारै लगानी बढाउँदै जानुपर्ला।’

बुटवलकी कविता कँडेल पनि केही समययता सेयर बजारमा सक्रिय रुपमा लगानी गरिरहेकी छन्। सुरुमा आईपीओबाटै सेयर बजारमा प्रवेश गरेकी कविताले काठमाण्डौमा बसोबास गर्ने दाजुसँग सरसल्लाह लिँदै दोस्रो बजारमा प्रवेश गरेकी थिइन्। अहिले उनले बैंक, बीमा र लघुवित्त कम्पनीहरुमा लगानी गरेकी छन्। ‘बजार बढिरहेकै छ, राम्रै कमाइ भइरहेकै छ, सन्तुष्ट नै छु’, उनले भनिन्।

सेयर बजार बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म हुने भएकोले कारोबार गर्न पनि सजिलो भइरहेको कविताले बताइन्। ‘अरु बेला बच्चाबच्ची र घरपरिवारलाई समय दिन सजिलो भएको छ’, उनले भनिन्, ‘परिवारका सदस्य पनि सेयर बजारमा लागेकोमा खुसी छन्।’

सामाजिक सञ्जालबाट सेयर बजारप्रति झुकाव बढाएकी पोखराकी लक्ष्मी खड्कालाई सुरुमा आईपीओमा लागिन्। त्यसपछि पोखरामै सेयर बजारसम्बन्धी तालिम लिएपछि उनी अहिले सक्रिय रुपमा दोस्रो बजारमा लगानी गरिरहेकी छन्।

लक्ष्मी दोस्रो बजार प्रवेश गर्दा सुरुमै ३ लाख रुपैयाँ खन्याएकी थिइन्। त्यतिबेला उनले एनएलआईसी, एनएमबीलगायतमा पैसा हालिन्। त्यतिबेला उनले यी सेयर बेचेर ६० हजार रुपैयाँ नाफा गरिन्। ‘अनि सेयर बजारप्रति मेरो आकर्षण बढ्दै गयो’, उनले भनिन्।

साथीभाइसँगै सरसल्लाह अनि सेयर बजारबारे अलिअलि पढ्दै ऋण गरेरै २५÷३० लाख रुपैयाँ लगानी खन्याएको लक्ष्मीले सुनाइन्। ‘अहिले अनलाइनबाटै कारोबार गर्न पाएकोले निकै सजिलो भएको छ’, उनले भनिन्, ‘घरव्यवहार पनि चलेकै छ, सेयर बजारमा पनि लाग्न भ्याएकी नै छु।’

लक्ष्मी आफ्नो पोर्टफोलियो हाल करिब ५० लाख रुपैयाँको रहेको खुलेरै बताउँछिन्। त्यसो त लक्ष्मी अब सेयरकै आम्दानीबाट गाडी किन्ने सोचमा पनि छिन्। ‘अहिलेको बजारबाट गाडी किन्ने पैसा त कमाइएला नि’, उनले भनिन्।

अहिले लक्ष्मीसँग उनका साथीसंगी अनि छिमेकी सेयर बजारबारे जिज्ञासा राख्न थालेका छन्। ‘मैले भनेर नै ४–५ जनाले त ६०–७० लाख रुपैयाँको सेयर किनेका छन्’, उनले हौसिँदै भनिन्।  

दुई छोराछोरीका आमा गायत्री लामिछाने ४ वर्षदेखि सेयर बजारमा लगानी गरिरहेकी छन्।

स्याङ्जा घर भई हाल काठमाण्डौको बनस्थली घर भएकी गायत्री साथीसंगी सेयर बजारमा लागेको चाल पाएपछि हौसिएर आफू पनि लगानी गर्न थालेको बताउँछिन्। ‘सुरुमा मैल मेगा बैंकको ५०० कित्ता सेयर किनेकी थिएँ’, उनले भनिन्, ‘अनि १ महिनाभित्रै २५ हजार रुपैयाँ फाइदा हुने भएपछि बेचेँ, अनि त मलाई सेयरमै लगानी गर्न झन् हौसला मिल्यो।’

घरपरिवारबाट सेयर बजारमा लाग्नलाई हौसला पाउँदै आएको गायत्री बताउँछिन्।

त्यसो त ४ वर्षअघि १८८१ को विन्दुमा रहेको बेला गायत्री सेयर बजार प्रवेश गरेकी थिइन्। त्यसपछि बजार घट्दै ११ सयको विन्दुमा पुगेपछि भने आफूले घाटा व्यहोर्नुपरेको उनले तीतो अनुभव सुनाइन्। ‘अहिले बजार २४०० माथि छ तर घाटा पूर्ति भएको छ’, उनले भनिन्, ‘अब कमाइन्छ कि भन्ने आशा छ।’

हाल गायत्रीसँग विभिन्न बैंक, जीवन बीमा, बीमा अनि नागरिक लगानी कोषका सेयर छन्। अझै बैंकहरुका सेयर थप्ने योजनामा उनी छिन्।