काठमाण्डौ । सरकारले सेयर बजारबाट पुँजीगत लाभकर गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामै ४ गुणा बढी राजश्व संकलन गरेको छ। 

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा सेयर कारोबारमा पुँजीगत लाभकरबापत सरकारले १ अर्ब १ करोड ९ लाख ३३ हजार १८१ रुपैयाँ संकलन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड ७१ लाख ५६ हजार ३८८ रुपैयाँ पुँजीगत लाभकरबापत सरकारले राजश्व संकलन गरेको प्रवक्ता न्यौपानेको भनाइ छ। गतको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सरकाले संकलन गरेको पुँजीगत लाभकर ४ गुणाभन्दा बढी हो।

आर्थिक वर्ष २०७५/७६ मा भने सरकारले सेयर बजारबाट प्राप्त गर्ने पुँजीगत लाभकर ६१ करोड २ लाख ७४ हजार ६१६ रुपैयाँ रहेको सीडीएससीले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष सेयर बजार वियरिस ट्रेन्डको अन्तिम विन्दुतर्फ रहेको र लगानीकर्ताको मनोबल खस्केकै कारणसमेत पुँजीगत लाभकर न्यून उठेको हो। तर गत वर्षको अन्त्यदेखि सेयर बजार बुलिस टे«न्डमा रहेको र बजारले अलटाइम हाई पार गरेपछि लगानीकर्ताको मनोबल ह्वात्तै बढेको देखिन्छ। जसको प्रभाव सेयर बजारमा खरिदबिक्रीको चाप बढी सकारात्मक प्रभाव परेको छ।

कोभिड–१९ ले समेत अनलाइन कारोबार प्रणाली र सेयर खरिदबिक्रीमा विद्युतीय भुक्तानीका माध्यम अनिवार्य भएसँगै दोस्रो बजारका सक्रिय लगानीकर्ता करिब ५ लाख रहेको र अनलाइनमार्फतमात्रै सेयर किनबेच गर्नेको संख्या करिब ३ लाख पुगी बजार निकै माथि दौडिरहेको छ।

कोभिड–१९ ले अन्य लगानीका क्षेत्र संकुचित भई सेयर बजारमै उक्त लगानी पार्किङ हुनु्, बैंक ब्याजदर निकै न्यून हुनु र अधिक तरलताले गर्दा हाल सेयर बजारमा सकारात्मक माहौल रहेको छ। जसका कारणसमेत लगानीकर्ताको सेयर किनबेच उल्लेख्य रुपमा बढिरहेका कारण सरकारले संकलन गर्ने राजश्वसमेत ह्वात्तै बढेको जानकारहरु बताउँछन्।

अनलाइन कारोबार प्रणालीकै कारण विश्वभरिका नेपालीहरुले समेत दोस्रो बजारमा सहज पहुँच प्राप्त गरिरहेका छन्। यो उल्लेख्य संख्या निरन्तर बढ्दै जानु र बजारमा नयाँ लगानीकर्ताको बाक्लो प्रवेशले समेत सेयर किनबेचमा उत्साह छाई सूचक र कारोबार रकम निरन्तर वृद्धि भइरहेको छ।

बिना झन्झट अनलाइनबाट सेयर किनबेच गर्न सकिने सुविधाले समेत अधिकाअधिक सेयर किनबेचमा प्रोत्साहन मिलिरहेको र वर्तमान परिस्थिति सेयर बजारमैत्री भएकाले आगामी दिनमा सूचक र कारोबार रकम निरन्तर उकालो लाग्ने अनि सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरबापतको राजश्व संकलनमा समेत वृद्धि हुने विश्लेषकको भनाइ छ।

सेयर बिक्री गर्दा नाफाबापत सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। व्यक्तिको हकमा ५ प्रतिशत र संस्थाको हकमा ७.५ प्रतिशत पुँजीगत लाभकरबापत सरकारले सेयर बजारबाट राजश्व संकलन गर्दै आइरहेको छ।