विज्ञानको चाल र गतिसम्बन्धी तेस्रो नियमअनुसार हरेक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ। अझ यसलाई सरल भाषामा भन्नुपर्दा हरेक वस्तुको तल–माथि गर्ने एउटा सामथ्र्य हुन्छ भन्ने नै हो।

कुनै पनि वस्तु माथि जानलाई त्यहाँ शक्तिको आवश्यकता देखिन्छ। आकाशमा उडेको चंगालाई एकैछिन नियालेर हेर्यो भने त्यहाँ हावाको शक्ति देखिन्छ। 

त्यसैगरी कुनै पनि जलविद्युत् उत्पादन गृहभित्र पसेर घुमिरहेको टर्बाइनलाई हेर्ने भने त्यहाँ पानीको शक्ति देखिन्छ। 

कतै हावा त कतै पानीको शक्ति देखिएजस्तै सेयर बजारमा पनि पैसाको शक्ति देखिन्छ। अब यहाँनेर एउटा यक्ष प्रश्न खडा हुन्छ कि बजारमा पैसाको शक्ति कति छ र बजार अझै कति माथि जाला ?

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने २७ वटा वाणिज्य बैंकको औसत आधार दर ०.१८ प्रतिशतले घटेको छ भने अन्तरबैंकिङ ब्याजदर ०.८४ बाट ०.६६ मा घटेको देखिन्छ। यो भनेको बैंकमा तरलताको अवस्था सहज नै छ र तत्काल बजार बियरिस हुँदैन भन्ने नै हो। अझै हरेक बैंकको सीसीडी रेसियो नियाल्ने हो भने घामजस्तै छर्लङ हुन्छ। 

भलै सेयर बजार सधैँ माथिमात्रै जान पनि सम्भव हुँदैन। किनकि यसको बाटो नै बांगोटिंगो भएर तल–माथि गर्ने हो। यो एक स्टेप पछाडि हट्दै दुई स्टेप अगडि बढ्ने हो। 

सेयर बजारमा किनबेच गर्ने आ–आफ्नो आवश्यकता, क्षमता र बुद्धिको कुरा हो। एकपटक अकबरलाई वीरबलको बुद्धि परीक्षा गर्न मन लागेछ। बिरामी परेर सुतेका वीरबलको बुद्धि र क्षमतामा के–कति ह्रास आयो भनेर उनलाई जान्नु थियो। चर्पी गएको बेला उनी सुत्ने खाटका चारै खुट्टामुनि ससाना कागजका टुक्रा राखिदिए। केहीबेरमा वीरबल आएर आफ्नो बिस्तारामा पल्टन के खोजेका थिए उनलाई आफू माथिको छानो तल आएको जस्तो लाग्यो। उनले अकबरसँग कुरा गर्दै आफू सुत्ने खाटमुनि हेरे र केही गोलमाल भएको भएको संकेत गरे। त्यसपछि अकबरले वीरबललाई सोधे, ‘कस्तो गोलमाल भयो जस्तो लागेको छ त ?’

त्यसपछि वीरबलले जबाफ दिए, ‘यो मेरो खाट नै एउटा कागजको टुक्रजति माथि भएको हो वा त्यो छत नै एउटा कागजको टुक्राजति तल धसेको हो, यी दुईमा एउटा त पक्कै भएको हो।’

अकबरले केही नभएको भन्दा पनि वीरबलले केही गड्बड पक्कै छ भन्दै दाबी गरे। त्यसपछि सानो घटबढमा पनि चनाखो देखिएका वीरबलको बुद्धिको प्रशंसा अकबरले गरे।

कथामा वीरबलले छानाको घटाइ तथा आफ्नो बिस्ताराको उचाइ थाहा पाएजस्तै सेयर बजारमा पनि लगानीकर्ताले कुन कारणले के भएको छ ? कुन सेक्टर घट्दा कुन सेक्टर बढेको छ ? कता पैसा लगाउँदा अझै नाफा हुन्छ कि हुन्न भन्ने विषयमा चनाखो हुन जरुरी हुन्छ।

सेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्, ‘सेयर बजारमा लगानी गर्नु भनेको उचित कारण बुझ्ने क्षमता हुनु हो, यो उचित कारण बुझ्ने क्षमता छैन भने यसमा नछिर्नु नै उचित हुन्छ।’

संसारमा कुनै पनि कुरा असम्भव होइन। तन, मन र धन लगाए सबै सम्भव हुन्छ। लगानी गर्नुभन्दा पहिले कम्पनीको राम्रो अध्ययन हुनु आवश्यक हुन्छ। अहिले करिब २५०० माथिको विन्दुमा रहेको बजार केही करेक्सन हुँदै माथि जाने हो। बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज रहुन्जेल र नियमक निकायहरुले बजारको विषयमा आफ्ना बुद्धिमत्ता देखाउन्जेल बजार सधैँ सबल र अब्बल नै हुन्छ।