केही दिनयता बाहिरी आकाश खुला र सफा भए पनि सेयरबजारको आकाशमा भने बादलका केही छिर्का देखिएका छन्। जसका कारण केही लगानीकर्ता अलमलमा परेकोजस्तो देखिन्छ। 

सेयर बजार भनेको एउटा समुद्र हो भन्ने कुरामा कुनै विबाद नहोला। विश्वका सेयर बजारहरुमा बेलाबेलामा समुद्रमा आउने ज्वारभाटा जसरी अनेक हल्ला चल्छन्। मानिसको स्वभाव नै यस्तो हुन्छ कि कुनै पनि राम्रो तथा सकारात्मक बिषय १० जनाले भन्दा विश्वास नगरेको त्यही विषयमा नकारात्मक समाचार तथा सूचना एउटैले भन्दा विश्वास गरिदिन्छन्। शून्यमा अडिएको पृथ्वी र विश्वासमै अडेको दुनियाँमा सर्वसाधरणले विश्वास गरिदिएपछि बजारमा चलखेल गरेर कमाउनेलाई त मलजल हुने नै भयो। 

कहिलेकाहीँ कतिपय बजारमा टाठाबाठा हुँ भन्नेलाई समेत सोच्न बाध्या बनाइदिन्छ सेयर बजारले। ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै विगतमा लामो बियरिस बजार भोगेका लगानीकर्तालाई एकैदिनको भारी गिरावटले मध्यरातमा झसंग हुनु स्वभाविक नै हो। किनकि सेयरबजारमा आफ्नोभन्दा ऋण तथा सरसापटी गरेर लगानी गर्नेको जमात बढी हुन्छ। 

अर्को पाटो सेयरबजारको सिद्धान्तलाई हेर्ने हो भने जब आकाशमा बादल लाग्छ र गड्याङगुडुङ गर्छ त्यो बेला खोलाका माछा सुरक्षित बास खोज्दै खेतमा आइदिन्छन्। यही नै बेला हो कि एउटा बल्छीलाई सहज तरिकाले राम्रा र ठूला माछा रोजीरोजी आफ्नो गोजी अर्थात फुर्लुङमा हाल्ने। सेयर बजारमा पनि यस्तै हुन्छ। जब बजारको आकाशमा कालो बादल लाग्छ र गड्याङगुडुङ गर्न थाल्छ अनि केही मान्छेले आत्तिएर राम्रा कम्पनीका सेयर मागेकै मूल्यमा फाल्न थाल्छन्। अनि सेयर बजारमा बल्छी हान्नेहरुलाई सहज भइदिन्छ। 

सेयर बजारमा जोगीको भेषमा कोही–कोही भेटिन सक्छन् तर जोगी नै बन्न कोही पनि आएको हुन्न। त्यसैले आआफ्नो बजार रणनीति र योजनाअनुसार चल्नु नै बुद्धिमानी हुन्छ।

विश्व सेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्, ‘अरु डराएको बेला तपाइँ हौसिनु र अरु हौसिएका बेला तपाइँ डराउनु।’ सेयर बजारको मूलमन्त्र यही हो। 

कस्तो छ राष्ट्र बैंकको पछिल्लो तथ्यांक ?

राष्ट्र बैंकको गत एक वर्षको निक्षेप तथा कर्जा संकलनको अवस्थालाई केलाउने हो भने गत जुलाईको मध्यसम्ममा निक्षेप संकलनतर्फ ३९ खर्ब ३४ अर्ब संकलन गरी ३२ खर्ब ४२ अर्बमात्रै कर्जा प्रवाह भएको देखिन्छ। गत वर्ष जुलाईमा निक्षेप संकलनका आधारमा कर्जा प्रवाह अतिकम भएको देखिन्छ। यसको मूल कारण त्यो बेला कोभिडले गर्दा भएको लकडाउन हो। जसले गर्दा अधिक तरलता हुन गई ब्याजदर घट्न गयो। 

अहिले जनजीवन विस्तारै सहज हुँदै जाँदा कर्जाको माग पनि बढ्दै गएको देखिन्छ। जसअन्तर्गत यस वर्ष मध्य जनवरीसम्म आउँदा  कर्जा प्रवाह बढेर ३६ खर्ब ६२ अर्ब भएको छ भने निक्षेप संकलन पनि बढेर ४२ खर्ब ८४ अर्ब भएको देखिन्छ। अर्थात कर्जाको मागसँगै निक्षेप पनि बढेको देखिन्छ। निक्षेप बढ्नुका कारण रुपमा रेमिट्यान्स बढ्नु तथा सरकारले गर्ने चालु तथा पुँजीगत खर्च हुनु र यस वर्ष व्यापार घाटा कम हुँदै जानु, नेपाली विद्यार्थी तथा विदेश घुम्ने नेपालीबाट डलरको माग कम हुनुजस्ता छन्। त्यसैगरी राष्ट्र बैंकले प्रकाशित गर्ने सूचांकमा  फेब्रअुरी २६ सम्ममा समग्र बैंकहरुको सीसीडी रेसियो ७६.२१ छ। यसको अर्थ बैंकहरुमा रु १०० निक्षेप लिएर रु. ७६ कर्जा प्रवाह भएको छ भन्न्ने हो। जब कि तरलता संकटको बेला ८० देखि ८५ सम्म कर्जा प्रवाह गर्न बैंकहरुलाई राष्ट्र बैंकले दिन सक्छ। यो तथ्यांकले बजारमा आएको तरलता संकुचन र ब्याजदरका विषयमा प्रस्ट पार्छ। 

कर्जाको माग बढ्दै नबढेको भने होइन। तर अहिले नै ब्याज बढ्ने गरी तरलता संकट भएको छैन। यदि यही निहुँमा कसैले ब्याजदर बढाउँछन् भने राष्ट्र बैंक मुकदर्शक भएर बस्न मिल्दैन। किनकि बैंकहरुका आधारदर बढिहालेको अवस्था छैन।