काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले चैत ६ गते काठमाण्डौको मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालयमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीको सहभागिता थियो। 

यसैगरी क्यापिटलले काठमाण्डौको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका बीबीए संकायअन्तर्गतका विद्यार्थीहरुका लागि सेयर बजारसम्बन्धी तीनदिने आधारभूत तालिम कार्यक्रम सुरुआत गरेको छ। आज चैत ८ गतेबाट चैत १० गतेसम्म ३ दिन चल्ने तालिमको पहिलो दिन नेपालको पुँजी बजारसम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोस्रो बजारमा लगानी गर्नका लागि जान्नुपर्ने विषयका बारेमा तालिम दिइएको थियो। 

यसैगरी भोलि चैत ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनका बारेमा तथा चैत १० गते मंगलबार आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका रहेको छ। तालिममा सो कलेजमा बीबीए संकायमा अध्ययनरत करिब ६० जना विद्यार्थीको सहभागिता छ। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा यस्तो तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ। आईआईडीएसमा सञ्चालन गरिएको तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए। 

यसैगरी प्लाटिनम कजेलको तालिम कार्यक्रममा पहिलो दिन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले, चैत ९ गते प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र चैत १० गतेको तालिम रिसर्च हेड अविरल नेपालले सञ्चालन गर्ने कार्यतालिका रहेको छ।