– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अनावश्यक रुपमा पैसा बढी खर्च गर्न कसलाई पो मन लाग्ला र ? तर कतिपय अवस्थामा सुझबुझ नपुर्याउँदा वा थाहा नहुँदा अनावश्यक रुपमा पैसा बढी खर्च गरिरहेका हुन्छन्। 

बढ्दो सेयर बजारमा ठूलो संख्यामा लगानीकर्ता भित्रिरहेका छन्। सेयर बजारसम्बन्धी आवश्यक जानकारी कतिपयमा कमै देखिएको छ। जसका कारण कतिपयले झुक्किएर बढी पैसा तिर्ने गरेको पनि भेटिएको छ।

यसको ज्वलन्त उदाहरण बनेको सेयर ट्रान्सफर (स्थानान्तरण) सेवा । यो सेवा उपयोग गरेबापत प्रायः लगानीकर्ताले झुक्किएर तोकिएको शुल्कभन्दा बढी पैसा तिर्ने गरेको पाइएको हो। 

नियमअनुसार एउटा डीपीबाट अर्को डीपीमा सेयर ट्रान्सफर गर्दा प्रतिव्यक्ति जम्मा १०० रुपैयाँ तिरे पुग्छ । तर, लगानीकर्ताले आफूसँग भएको सेयर ट्रान्सफर गर्दा प्रतिकम्पनी नै १०० रुपैयाँका दरले तिर्ने गरेको पाइएको छ। 

सेयर ट्रान्सफर गर्दा सीडीएससीमा निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ। अर्थात् प्रतिव्यक्ति १०० रुपैयाँ तिरे पुग्छ।

सेयर ट्रान्सफरको सिफारिस लिँदा डीपीमा लगानीकर्ताहरुले प्रतिकम्पनी २५ रुपैयाँ तिर्नुपर्छ। तर लगानीकर्ताहरु पुनः उक्त सिफारिस सीडीएससीमा लिएर जाँदा फेरि प्रतिकम्पनी सेयर ट्रान्सफर गर्दा १०० रुपैयाँका दरले बैंकमा जम्मा गरेर भौचर बुझाउँछन्। तर डीपीमा प्रतिकम्पनी २५ रुपैयाँ तिरे पनि सीडीएससीमा जतिवटा कम्पनीको सेयर ट्रान्सफर गर्दा पनि प्रतिव्यक्ति १०० रुपैयाँमात्र तिरे पुग्छ भन्ने कुरा आमलगानीकर्ता कमैलाई मात्रै थाहा हुँदा भुलवश यस्तो भएको हो। 

सीडीएससीमा बीओ टु बीओ सेवा लिँदा प्रतिव्यक्ति १०० रुपैयाँ, नाम–थर सच्याउनु परे पनि प्रतिव्यक्ति १०० रुपैयाँ र भुलवश डीपीले  एक व्यक्तिको सेयर अर्को व्यक्तिमा पठाएमा त्यस्ता सेयर ट्रान्सफर गर्नुपरे १०० रुपैयाँमात्रै तिरे पुग्छ। नाबालकबाट साबालकमा सेयर ट्रान्सफर गर्नुपरेमा भने कुनै शुल्क तिर्नुपर्दैन।

यी सेवामा लगानीकर्ताले भुलवश बढी शुल्क तिरेमा सीडीएससीले फिर्ता गर्ने गरेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। ‘एकाधले थाहा नपाउँदा बढी शुल्क तिर्ने गरेका छन्’, उनले भने, ‘हामीले बढी पैसा तिरेको थाहा पाउनेबित्तिकै कागजी प्रक्रिया पूरा गरी सम्बन्धित सेवाग्राहीलाई नै पैसा फिर्ता गर्ने गरेका छौँ।’