– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता कारोबारको दुई दिनै सेयर बजार उकालो लागेको छ। 

नेप्से परिसूचकले नयाँ उचाइ चुम्दा साताको पहिलो कारोबार दिन आइतबार साढे १० अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको थियो भने दोस्रो दिन सोमबार साढे ९ अर्ब रुपैयाँ बढीको किनबेच भएको छ। दुवै दिन बजारलाई कारोबार रकमले साथ दिएको देखिन्छ। आगामी दिनमा पनि बजारलाई कारोबारले साथ दिने संकेत पनि मिलेको छ। 

यदि हिजोआज जस्तै कारोबार भएमा बजार सकारात्मक ढंगले अगाडि बढ्ने देखिन्छ। तर कारोबारले साथ नदिएमा आगामी दिनमा बजारमा सानातिना करेक्सन आउने सम्भावना पनि उत्तिकै छ। 

प्राविधिक हिसाबले यो साताको बजार 

फिवोनासी रिट्रेसमेन्ट

फिवोनासी रिट्रेसमेन्ट एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। जसअन्तर्गत अबको प्रतिरोध यदि बजार बढेमा १ प्रतिशतको बढोत्तरी २७६० सम्म, १.६१ प्रतिशतको बढोत्तरी २९१८.९६ सम्म र २.६१ प्रतिशतको बढोत्तरी ३१६८ सम्म पुग्ने देखिन्छ। 

एमएसीडी लाइन 

यो लाइनअन्तर्गत १२ मे २०२१ मा बुलिस क्रसओभर बनेको (हरियो एरोले देखाएको) र हालसम्म पनि बुलिस सिग्नल भ्यालिड रहेको देखिन्छ। तर हिस्टोग्रामहरु (कालो एरोले देखाएको) सकारात्मक भएका छन्। यसले बजार केही समय अझै बढ्न सक्ने अनुमान लगाउन सकिन्छ।

आरएसआई

आरएसआईका आधारमा बजारको विश्लेषण गर्नुपर्दा यदि यो विन्दु ७० भन्दा माथि हुन्छ भने ओभर बट जोन, ३० भन्दा तल भए ओभर सोल्ड जोन र ५० को विन्दुमा भए न्युट्रल जोन मानिन्छ। अघिल्लोपटक ७३.२८ मा पुगेपछि करेक्सन आएको थियो भने  अहिले बजारको यो विन्दु ६७.७९ को जोन अर्थात ओभर बट नजिक भएकोले  केही समय पर्ख र हेरको अवस्थामा देखिन्छ। यसले केही दिनमा करेक्सन आउन सक्ने अनुमान लगाउन सकिन्छ तर बुलिस बजारमा यो विन्दु लामो समय ओभर बट जोनमा पनि रहन सक्ने हुनाले यतिलाई मात्रै आधार बनाउन सकिन्न।

बोलिंगर ब्यान्ड

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको तथा सेयरको अन्तिम कारोबारको मैनबत्तीले छोटो मारुबुजु बनाएकोले आगामी कारोबारमा बिक्रीचाप आउन सक्ने अनुमान गर्न सकिन्छ।

निष्कर्ष

विभिन्न औजारहरुमध्ये एमएसीडी लाइनले बजार बुलिस नै रहेको देखाउँछ। तर, अन्य औजारले आगामी कारोबारमा केही सानातिना करेक्सन आउने देखिन्छ। जुन भनेको बुलिस बजारमा खरिदकै अवसर हो। केही दिन बजार स्थिर रहेर पुनः उकालो लाग्न सक्ने सम्भवना देखिन्छ।

नोट : यो विश्लेषण विभिन्न औजारहरुलाई आधार मानेर गरिएको हो। विभिन्न औजारले विभिन्न संकेत गरेका हुन्छन्। संसारमा नै प्राविधिक विश्लेषण सतप्रतिशत नहुने हुँदा लगानीकर्ताले आफैँले अध्ययन तथा विश्लेषण गरी कारोबार गर्न उपयुक्त हुन्छ।