– अनत्य सुन्दर (प्रशिक्षार्थी पत्रकार)

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारमा दृष्टिविहीन लगानीकर्तालाई सहजताका लागि आवश्यक नीति बनाउन सम्बन्धित सबै निकायलाई सुझाव दिएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेत्रहीन संघको समन्वयमा शुक्रबार सम्पन्न सेयर बजारका सम्बन्धमा जुममार्फत भएको अन्तक्र्रियामा दृष्टिविहीन लगानीकर्ताले भोग्दै आएका समस्या र त्यसको समाधानबारे छलफल भएको थियो। कार्यक्रममा नेत्रहीन संघका उपाध्यक्ष खोमराज शर्मा साथै अन्य दृष्टिविहीन लगानीकर्ताले टीएमएसमा ‘क्यप्चा’ को समस्या र कनेक्ट आईपीएसबाट कोल्याटरल राख्दा समस्या रहेको बताएका थिए। उनीहरुले बैंकमा खाता खोल्न, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो सेयरजस्ता अन्य सेवा लिन जाँदा पनि समस्या सिर्जना भएको गुनासो गरेका थिए। यी समस्या समाधान गर्नका लागि उनीहरुले नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको औँल्याएका थिए। 

दृष्टिविहीन लगानीकर्ताका यिनै गुनासाको जबाफ दिँदै अध्यक्ष ढुंगानाले बैंक, नेप्से, सेबोनलगायत अन्य वित्तीय र पुँजी बजारसँग सम्बन्धित निकायहरुसँग समन्वय गरेर दृष्टिविहीन लगानीकर्ताले भोग्दै आएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका हुन्। ‘मौद्रिक नीतिलगायत अन्य नीतिहरुमा दृष्टिविहीन लगानीकर्ताले सेयर बजारमा भोगेका यी समस्याहरुको समाधान पहिचान गरिनुपर्छ’, उनले भने। 

कार्यक्रममा नेप्सेका सीईओ चन्द्रसिंह साउदले सेयर बजारमा दृष्टिविहीन लगानीकर्ताले भोग्दै आएका व्यवहारिक र कानुनी रूपमा रहेको समस्याहरु पहिचान गर्न आवश्यक रहेको बताए। उनले प्राविधिक समस्याहरु सुधार गर्दै अगाडि बढ्ने आश्वासन दिए। टीएमएसमा लगइन गर्दा दृष्टिविहीन लगानीकर्तालाई सहजीकरण गर्नका लागि नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बायोमेट्रिकबाट लगइन गर्न अनिवार्य गर्नु आवश्यक रहेको बताए। उनले यसका लागि नीतिगत रूपमा स्पष्टता आवश्यक रहेको पनि औँल्याए। 

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले नियामक निकाय, नेत्रहीन संघमा आबद्ध व्यक्तित्व, पत्रकार साथै अन्य निकायहरूको उपस्थितिमा कार्यदल बनाई समस्या पहिचान र समाधान गर्ने सुझाव दिए। यसका साथै बैंकर्स एसोसिएसनसँग सम्बन्धित अन्य पधादिकारीहरूले बैंकहरूले नीतिगत तथा संरचनागत हिसाबमा सुधार गर्दै सेवामा थप सुधार ल्याउने आश्वासन दिए। 

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले अपांगता भएका लगानीकर्ताले भोग्नुभएका समस्याको समाधान मौद्रिक नीतिमा राखिने आश्वासन दिए। दृष्टिविहीन लगानीकर्तालाई पैसा चिन्न सहज हुने गरी १००, ५०० र १ हजारका नोटहरूमा प्रतीकात्मक चिह्नहरू राखिएको उनले जानकारी दिए।