– अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार)

काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दो छ। लकडाउन सुरु भएसँगै सेयर बजारमा लगानी गर्नेको संख्या बढेको हो। 

पछिल्लोपटक निष्कासन भएका आईपीओबाट लगानी सुरु गरेकाहरु अहिले दोस्रो बजारमा पनि सक्रिय रुपमा कारोबार गर्न थालेका छन्। अहिले धेरैजसो विद्यार्थी लगानीकर्ता सेयर बजारमा आकर्षित भएको देखिन्छ। छोटो समयमा थोरै लगानी गरेर धेरै कमाउन सकिने भएकाले विद्यार्थी आकर्षित भएका हुन्। 

अहिले नेपाली सेयर बजार बुलिस ट्रेन्डमा भएकाले आईपीओमात्र परेका लगानीकर्ताले पनि बजारबाट राम्रै मुनाफा कमाएका छन्। सेयर बजार विद्यार्थीका लागि अहिले आयस्रोतको माध्यम बनेको छ। धेरैजसो विद्यार्थीको पकेट खर्चको स्रोत नै सेयर बजार बन्दै गएको छ। 

धिरज पौडेल– बीबीए प्रथम वर्ष (फिनिक्स कलेज)

पर्वतका धिरज पौडेल विगत केही महिनादेखि आईपीओमा लगानी गर्दै आएका छन्। ‘आईपीओबाट सजिलै कमाउन सकिन्छ भन्ने सुनेर लगानी गर्न सुरु गरेको हो’, उनले भने, ‘लकडाउनमा हर्षद मेहताको स्क्याम १९९२ हेरेँ, त्यसपछि भने सेयरमा लगानी गर्ने चाहना बढेर आयो। ‘दोस्रो बजारमा धेरै रिस्क हुन्छ भन्छन्, त्यसैले अहिले दोस्रो बजारमा लगानी गरेको छैन।’

खाजा खर्चबाट बचाएर पनि आफ्ना सहयात्रीहरूले सेयरमा लगानी गर्दै गरेको धिरज बताउँछन्। अहिले धिरज सेयर बजारमा लगानी गर्दै आएका लगानीकर्ताबाट दोस्रो बजारबारे सिक्दैछन्। उनी भन्छन्, ‘बजारबारे अध्ययन सकेपछि छिट्टै दोस्रो बजारमा लगानी गर्छु’।

इशु श्रेष्ठ– बीबीए चौथो वर्ष (युनिभर्सल कलेज)

नेपालगन्जकी इशु श्रेष्ठले आफ्नो लगानी यात्रा लकडाउनमा सुरु गरेकी हुन्। निफ्रा, ज्योति लाइफजस्ता कम्पनीबाट राम्रो कमाएकी श्रेष्ठको अब दोस्रो बजारमा पनि लगानी गर्ने योजना छ। ‘सेयर बजार हामीजस्तो विद्यार्थीका लागि आयआर्जनको राम्रो स्रोत हो’, श्रेष्ठ भन्छिन्, ‘अब दोस्रो बजारमा लाभांश दिने राम्रो कम्पनीहरू छनौट गरेर लगानी गर्छु।’

साथीले गर्दा सेयरमा लगानी गर्न सुरु गरेको श्रेष्ठले बताइन्। ‘मःम खाने खर्च बचाएर पनि सेयरमा लगानी गर्न सकिने रहेछ’, उनले भनिन्, ‘अहिले बजार बुझ्दैछु, त्यसैले आईपीओ र केही राम्रा बैंकहरुमा लगानी गरेको छु।’

सिर्जन पोख्रेल– बीबीए दोस्रो वर्ष (युनिभर्सल कलेज)

काठमाण्डौका सिर्जन पोख्रेल पछिल्लो लकडाउनमा दोस्रो बजारमा प्रवेश गरेका थिए। पोख्रेलले सेयर बजारमा लगानी सुरु गरेको झन्डै डेढ वर्ष भयो। पोख्रेलले कक्षा १२ मा हुँदादेखि नै आईपीओमा लगानी गर्दै आएको थिए। ‘बजारको लत लाग्यो, त्यसैले खुत्रुके फुटाएर त्यहाँ भएको पैसाले दोस्रो बजारमा पनि लगानी सुरु गरेँ’, पोख्रेलले भने। 

पकेट खर्चका लागि लगानी सुरु गरेका पोख्रेललाई अहिले बजार आम्दानीको स्रोत बनेको छ। ‘सेयर बजारबाट कमाएको पैसाले कलेजको फी तिर्ने सपना छ। अब बुवाआमालाई धेरै दुख दिने मन छैन’, पोख्रेल भन्छन्, ‘सेयर बजारमा अहिले धेरै खेलाडीहरू भएकाले मलाई कतिपय कम्पनीहरूमा घाटासमेत भयो। तर लगानी गर्न भने छोडेको छैन।’ 

बैंकलाई ब्रोकर लाइसेन्स दिएमा लगानी गर्न सहज हुन्छ भन्ने बुझेको पोख्रेलले बताए। 

विवेक गौतम– पुलचोक इन्जिनियरिङ क्याम्पस

झापाका विवेक गौतम लकडाउनमा दोस्रो बजार प्रवेश गरेका थिए। ‘कोरोना कहरको बेला सजिलै आम्दानी गर्ने क्षेत्र फेला पर्यो’, उनले भने। 

गौतमले आईपीओभन्दा दोस्रो बजारमा बढी लगानी गर्दै आएका छन्। ‘कम्पनीको फन्डामेन्टल हेरेर लगानी गर्छु, त्यसैले बजारबाट घाटा भएको छैन’, गौतम भन्छन्, ‘राजनीतिक तथा नीतिगत परिवर्तनले बजारलाई धेरै नै असर गर्दो रहेछ। त्यसबारे चाहिँ अहिले सिक्दैछु।’

गौतमको आउने दिनमा बजारमा लगानी बढाउने योजना छ। ‘आफूले जति घाटा बेहोर्न सकिन्छ त्यति मात्र लगानी गर्नुपर्छ’, उनी भन्छन्, ‘टिएमएस नचलेर कतिपय बेला खरिद–बिक्री गर्ने मौका गुमाउँदै आएको छु। यस्तो समस्या अरूले पनि भोग्दै आउनु भएको छ होला। यसको समाधान भए बजारमा हामीजस्तो लगानीकर्तालाई लगानी गर्न अझ सहज हुने थियो।’ 

युनिभर्सल कलेजका एकेडेमिक डाइरेक्टर राजु टन्डनका अनुसार विद्यार्थीले सेयरमा लगानी गर्दा उनीहरूले व्यवहारिक ज्ञान हासिल गर्नुका साथै लगानी गर्न पनि सिक्छन्। ‘कलेजहरूले पनि सेयर भनेको के हो ? सेयरमा लगानी कसरी गर्ने ? लगानी गर्दा कस्ता कम्पनीहरू छनौट गर्ने ? लगायत अन्य विषयमा ट्रेनिङ साथै सेमिनार गर्नसके विद्यार्थीले सेयर बजारमा सुरक्षित लगानी गर्ने उनी बताउँछन्। ‘सेयरबाट धेरै कमाउने रहरले विद्यार्थी डुबेको पनि देखेको छु’, उनले भने, ‘त्यसैले विद्यार्थीले जोखिमपूर्ण लगानी गर्नुहुँदैन। कलेजहरूले पनि विद्यार्थीलाई सेयर शिक्षा पाठ्यक्रममा राखेर दिनुपर्छ।’ 

सेयर बजारमा वर्षौंदेखि लगानी गर्दै आएका लगानीकर्ता विशाल कडरियाले बजारमा विद्यार्थीले लगानी गर्नु सुखद पक्ष रहेको बताए। कडरिया भन्छन्, ‘अहिले कलेजमा अध्ययनरत विद्यार्थी नै भोलिका लगानीकर्ता हुन्, त्यसैले विद्यार्थीले बजारमा लगानी गर्न आवश्यक छ।’

अहिले विद्यार्थीले आईपीओमा मात्र नभएर दोस्रो बजारमा पनि लगानी गर्न सुरु गरेका छन्। बजार बुलिस भएकाले अहिले धेरैजसो लगानीकर्ताले बजारबाट कमाएका पनि छन्। तर बजार घट्दा धेरैलाई नोक्सान पनि हुन सक्छ। त्यसैले आयस्रोत नभएका विद्यार्थीले हौसिएर लगानी नगर्न कडरियाको सुझाव छ।