– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको सुरुआतका दुवै कारोबार दिन सेयर बजार उकालो लागेको छ। आर्थिक वर्षको अन्तिम महिनामा ब्याज तिर्नुपर्ने भएकोले दबाब पर्नुपर्नेमा सुधार देखिनुले बजारमा थप बलियो र दिगो बन्दै गएको जानकारहरु बताउँछन्।

प्राविधिक रुपमा सेयर बजारको रेखाचित्रलाई केलाउँदा भने विभिन्न संकेत देखिन्छन्। प्राविधिक औजार पनि अल्पकालीन र दीर्घकालीन हुन्छन्। जस्तै– इलिअट वेभले एक साता, महिना तथा वर्षको विश्लेषण गर्न सघाउँछ भने मैनबत्ती, बोलिंगर ब्यान्ड र एमएसीडी लाइनले तत्कालको बजारको अवस्थालाई विश्लेषण गर्न सघाउँछन्। 

इलिअट वेभबाट हेर्दा बजारमा अझै केही समय करेक्सन भएपछि मात्रै यसको चक्र पूरा हुन सक्ने देखिन्छ। अन्य औजारबाट हेर्दा भने केही दिनभित्र बजारमा सामान्य बढोत्तरी आउनसक्ने अनुमान लगाउन सकिन्छ। तथापि यी औजारकै आधारमा गरिएका आँकलन एक विश्वव्यापी औजारमा आधारित अनुमान र विश्लेषणमात्रै हुन्। 

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत हिजो र आजको कारोबारमा ड्रयागन फ्लाई डोजिस्टार बनाएर रातो मारुबुजु बनेको छ (हेर्नुहोस् हरियो एरो)। यो मैनबत्ती अंग्रेजी अक्षर ‘टी’ आकारको हुन्छ। यसको अर्थ बजारमा सुरुमा बिक्रेता हावी भएको र कारोबारको अन्त्यमा क्रेता हावी भएको भन्ने हो। यो रातो मैनबत्ती पछि देखा परेमा बजार बुलिस ट्रेन्डमा जान्छ भन्ने हो। हाल रातो मैनबत्तीपश्चात यो आकृति बनेको छ। त्यसैले अल्पकालका लागि बजारमा सानो मुभमेन्ट आउन सक्ने अनुमान लगाउन सकिन्छ। 

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले साना–ठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। गत नोभेम्बरदेखि हालसम्मको बाजारले बनाएको रेखाचित्रलाई आधार मानेर इलिअट वेभलाई विश्लेषण गर्ने हो भने हाल इन्टरमिडियट वेभअन्तर्गत वेभ (५) तथा माइनर डिग्रीअन्तर्गत पनि वेभ (५) नै सकिएको अनुमान लगाउन सकिन्छ। यसअन्तर्गत अहिलेको करेक्सन फिवोनासीको ०.५ प्रतिशतको टेवा २७७७ को विन्दुमा वा अझै घटेमा ०.६१ प्रतिशतको टेवा लगभग २७१० को विन्दुसम्म आउन सक्छ। यो भनेको इन्टरमिडियट डिग्रीको वेभ ए हुने र त्यहाँबाट पुनः फर्केको बजार यही वेभअन्तर्गतको वेभ बी बनाउन लगभग २९०० को विन्दुसम्म फेरि एकपटक बजारमा करेक्सन भएर यही वेभको सी बनाउन २५०० को विन्दुसम्म बजार आएर यो चक्र पूरा हुन सक्ने सम्भावना छ। (मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २९१८, ०.३८ प्रतिशतको टेवा २८३८ तथा ०.५ प्रतिशतको टेवा २७७१ र ०.६१ प्रतिशतको टेवा २७२० को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। जुन तस्बिरमा हेर्न सकिन्छ।

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गएको १७ जुनमा बियरिस क्रसओभर बनेको छ। सिग्नल बियरिस नै देखिन्छ  हिस्टोग्रामहरु (कालो एरोले देखाएको) छोटा–छोटा हुँदै गएका छन्। हिस्टोग्राम छोटा–छोटा हुनु भनेको एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएको र बजार केही समयमा बुलिस क्रस ओभर पनि हुन सक्ने सम्भवना हो। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको र आज सोमबारको कारोबारले रातो मारुबुजु बनाएको छ। मूल्यरेखाले मध्यरेखाभन्दा तल–तल झरेकोले तल्लो ब्यान्डलाई छुने सम्भावना देखिन्छ। क्यान्डलहरु छोटा–छोटा भएकोले आगामी कारोबारमा खरिदचाप पर्न सक्ने अवस्था पनि उत्तिकै छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ५० रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल जोनमा छ र अघिल्लोपटक यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हाल आरएसआई ४६/४७ को विन्दुबाट फर्केकोले आगामी दिनमा बजारमा खरिदचाप पर्न सक्ने अनुमान लगाउन सकिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।