– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको ५ कारोबार दिनमा ३ दिन सेयर बजार बढ्यो भने २ दिन घट्यो। साताको पहिलो दिन ५४ अंकले उकालो लागेको बजारमा अन्तिम दिन दोहोरो अंकले ओरालो लाग्यो। 

विश्लेषकहरुले साताको अन्तिम दिन बजारमा सामान्य करेक्सन आएको बताएका छन्। आज १० अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कारोबार हुनुले बजार मजबुत नै रहेको उनीहरुको बुझाइ छ। 

यो साताभरि भने बजारमा ६६ अर्ब ५० करोड रुपैयाँबराबर कारोबार भएको छ। यो हिसाबले दैनिक औसत १३ अर्बभन्दा बढी कारोबार भएको छ। यसले बजार भोलुम तथा कारोबारमा बजार बलियो नै रहेको देखिन्छ। 

बजार लगभग ३१०० को मनोवैज्ञानिक  बिन्दुमा प्रतिरोध गरेको तथा साताको अन्तिम दिन दोहोरो अंकले करेक्सन भएकोले आगामी साता लगानीकर्ता निकै चनाखो हुन आवश्यक छ। बैंकिङ क्षेत्रबाहेक अन्य क्षेत्र राम्रै बढेकोले बजारमा केही लगानीकर्ता नाफा बुकको ध्याउन्नमा लागेको पनि पाइन्छ। 

बजारमा भोलुम कम र लागनीकर्ताको आकर्षण बढी  भएका सेयरमा ‘हिट एन्ड रन’ रणनीति अन्तर्गत चल्नुपर्ने देखिन्छ भने राम्रा र बलिया कम्पनीमा कम्तीमा लाभांश घोषण नहुन्जेलसम्म होल्ड गर्दा उत्तम हुने देखिन्छ। 

अगामी साता पनि जलविद्युत, फाइनान्स र विकास बैंकमै आकर्षण हुन सक्ने सम्भावना देखिन्छ। नयाँ राजनीतिक समीकरणसँगै आएका नयाँ अर्थमन्त्रीका कारण नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आउन ढिलाइ भइरहेको जानकारहरु बताउँछिन्। जसको कारण बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट निष्कासनमा ढिलाइ गरेका हुन सक्छन्। 

राष्ट्र बैंकको सर्कुलरले पनि बैंक तथा वित्तीय संस्थामा केही प्रभिजनको मात्रा बढ्ने देखिएको छ। यो भनेको एक खल्तीको पैसा अर्को खल्तीमा सारिएको मात्रै हो, दीर्घकालीन लगानीकर्तालाई खासै असर पर्दैन। 

यो साता पनि नेपाल धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रम ल्याउन सकेन। मौद्रिक नीति तथा धितोपत्र बोर्डको नीति तथा कार्यक्रम दुवै नआउनले लगानीकर्तामा अन्यौलता कायमै छ। 

बैंकको ब्याजदर नबढ्नु तथा फेरि कोभिडको प्रभाव जारी नै रहेकोले सेयर बजारबाट पैसा बाहिर अहिले नै जाने अवस्था छैन। यदि नियामक निकायले झटारो नहानेमा सेयर बजार कम्तीमा दसैँतिहारसम्म ठूलो गिरावटको सम्भावना देखिन्न।