►दिलिप मुंनकर्मी
प्रतिफलका लागि लगानी, लगानीमा जोखिम र जोखिम र प्रतिफल बीच जकडिएको लगानी निर्णयमा कसरी समाञ्जस्यता कायम गर्ने ? कुन समयमा, कसरी र कहाँ लगानी गर्दा बढी प्रतिफल प्राप्त हुन्छ र लगानी सुरक्षित हुन्छ ? जोखिम कति लिने र कसरी व्यवस्थापन गर्ने ? लगानीकर्ताका सबैभन्दा जटिल प्रश्नहरु यिनै हुन् । बजार घटेको वा घट्ने क्रममा रहँदा लगानी निर्णयहरु झन् पेचिलो र जोखिमपूर्ण हुने गर्छन् ।
 
मुख्यतः शेयरबजार अर्थात् दोस्रो बजारमा कारोबारी र लगानीकर्ता दुवैले प्रतिफलकै लागि लगानी गर्छन् । तर, उनीहरुको समयसीमा, जोखिम मूल्याङकन, जोखिम व्यवस्थापन रणनीति, लगानी सुरक्षाका आधार फरक हुन्छन् । अझ लगानीकर्ता र कारोबारी दुवै एकै भएको अवस्थामा लगानी संरक्षण र व्यवस्थापन थप अप्ठेरो बन्छ ।
 
लगानीकर्ताहरु दीर्घकालीन अवधिको जोखिम आँकलन गरी संभावित लाभहानीको आधारमा लगानी गर्न उद्यत हुन्छन् । उनीहरुले सम्भावित जोखिमसँगै विगत, विद्यमान र संभावित मुनाफाको अवस्था, प्रतिशेयर आम्दानी, लाभांस वितरण नीति, कम्पनीको जगेडा कोष, मूूल्य–आम्दानी अनुपात, इक्विटीमा प्रतिफल, कुल सम्पतिमा प्रतिफल, पुँजी परिचालनको अवस्था अध्ययन र विश्लेषण गरेर जोखिम र प्रतिफलमा आधारित भई लगानी निर्णय गर्नुपर्दछ । 
 
लगानीकर्ताहरुले जोखिम व्यवस्थापनका लागि मूूलतः औसत लागत न्यूनीकरणमा जोड दिएर कम्पनीको आधारभूत वित्तीय अवस्था र दीर्घकालीन व्यवसायिक विस्तारमा ध्यान दिनुुपर्दछ । लगानीकर्ताले दीर्घकालीन बजारमा संभावित पुँजीगत लाभका साथै कम्पनीले हासिल गर्ने वित्तीय सफलताका आधारमा लाभांश समेत दोहोरो प्रतिफलको हक राख्छन् । त्यसैले लगानीकर्ताले कहिलेकाही  दीर्घकालीन लाभका लागि अल्पकालीन पुँजीगत लाभको अवसरलाई त्याग गर्नुपर्ने हुनसक्छ ।
 
अर्कोतर्फ कारोबारीले शेयर बजारमा उपलब्ध अल्पकालीन अवसरलाई मुनाफामा परिणत गर्न बजारमा सम्बन्धित कम्पनी वा क्षेत्रको शेयरको माग र आपूर्ति अवस्थाको गहन विश्लेषण गर्दै किनबेच गर्नुपर्दछ । कारोवारीको प्रतिफल भनेको पुँजीगत लाभ मात्र हुँदा कति लाभका लागि कति जोखिम लिने र लगानी सुरक्षा कसरी गर्ने भन्ने बिषयमा तत्काल निर्णय र निर्णयको शीघ्र कार्यान्वयन आवश्यक हुन्छ । 
 
शेयरमा लगानी
लगानीका विभिन्न विकल्पहरुमध्ये शेयर एउटा हो, जुन निकै बढी जोखिमपूूर्ण हुन्छ । यहीकारण ‘जोखिम र प्रतिफल’को सामान्य सिद्धान्त अनुसार पनि स्वभाविक रुपमा बढि प्रतिफलको माग गर्दछ । शेयरमा गरिने लगानीमा बजार मूल्यको उतारचढावसँगै कम्पनीको व्यवसायिक तथा वित्तीय सफलताको जोखिम, नियामक, बजार, आर्थिक–सामाजिक, बजार सूचना र समाचार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति समेतले सिर्जना गर्ने विविध बहुआयामिक जोखिमहरु हुन्छन् । यसको अर्थ लगानी गर्दा जोखिम मूल्याङ्कन गरी आफ्नो क्षमता अनुसारको जोखिम बहनबाट मुनाफा बढाउने र त्यो सँगसँगै लगानीको बजार मूल्यमा कमी आउँदा हुनसक्ने हानीलाई समेत ध्यान दिनुपर्नेहुन्छ । लगानीकर्ताहरुले उल्लेखित जोखिम उठाएबापत लाभांशसँगै पुँजीगत लाभहानीको हकदार पनि बन्न तयार हुनुपर्छ ।
 
यसरी शेयरमा लगानीको विशेषता भनेको बहुआयामिक जोखिमसँगै दोहोरो प्रतिफल, लगानी मूल्यमा उतारचढाव, लगानी गरिएको मूलधन शून्य नहुनु पनि हो ।
 
अझ स्पष्ट रुपमा भन्नुपर्दा बजारमा किनेको कम्पनीको शेयरमूल्य तलमाथि हुन्छ, तर बिक्री नगर्दासम्म आफूूसँग भएको शेयरकित्ता कम हुँदैन । अर्थात् बिक्री नगरेको अवस्थामा शेयर संख्या स्थिर रहेको अवस्थामा लगानीको बजार मूल्य कम हुनसक्छ, तर लगानी गरिएको रकम प्रतिफल शूून्य हुँदैन । यसले शेयरमा लगानी जति जोखिमपूर्ण छ, लगानीको केही हदसम्म सुरक्षाको सवाल पनि जोडिएको हुन्छ । 
 
शेयरको बजारमूल्यमा गिरावट र लगानी संरक्षण वा सुरक्षा
हो, शेयरमा लगानीसँगै लगानी शूून्यता नहुने लगानी सुरक्षाको राम्रो पक्ष पनि गाँसिएको हुन्छ । यसो भन्दैमा शेयरमा गरिने लगानी जोखिमरहित र पूूर्ण सुरक्षित छ भन्ने होइन । माथि केही चर्चा गरिएजस्तो शेयर जोखिमपूूर्ण क्षेत्र भएकोले यहाँ लगानीमा प्रतिफलसँगै लगानीको बजारमूल्यलाई चनाखोपूूर्वक निगरानी गरेर लगानी सुरिक्षत गर्नुपर्दछ भन्न खोजिएको हो । कम्पनीको आधारभूत तथा वित्तीय पक्षहरुको अध्ययन र विश्लेषण गरेर निर्णय लिए कम्पनीगत लगानीको सुरक्षा प्रवद्र्धन गर्न सहयोग पुुग्छ ।
 
यस्तै, बजारको अध्ययन र विश्लेषणले लगानीको बजारमूल्यमा आउने उतारचढावलाई सन्तुलित गर्न सघाउँछ । विशेषगरी आफूले लगानी गरेको कम्पनीको शेयरको बजारमूल्य घटेको अवस्थामा लगानीको बजारमूल्य स्वाभाविक रुपमा घट्न जान्छ । लगानीको बजारमूूल्यमा कमीलाई नै लगानीमा क्षति सम्झेर कतिपय लगानीकर्ताहरुले आत्तिएर वा लहलहैमा कम मूल्यमा वा घाटामा नै शेयर बिक्री गर्दछन् । यसो गर्दा उनीहरुले घाटा न्यूनिकरणको उपाय अपनाएर आफ्नो लगानीको केही हिस्सा भए पनि सुरक्षित गरेको मान्यता राख्दछन् । तर के बिर्सन्छन् भने शेयरमा लगानी भनेको बजारमा गरिएको लगानी होइन, यो कम्पनीबाट प्राप्त हुनसक्ने मुनाफाका लागि गरिएको लगानी हो । कम्पनी नोक्सानी, दिवालीयापन वा विघटन नहुँदासम्म कम्पनीगत प्रतिफलमा लगानीकर्ताको हक सुनिश्चित हुन्छ । त्यो भनेको नै लगानीको सुरक्षा हो ।
 
वास्तवमा लगानीकर्ताका लागि कम्पनीको आधारभूत तथा वित्तीय कारण बाहेक बजारमूल्यको गिरावट लगानी व्यवस्थापनको अवसर पनि हो । यसले विगतको लागतलाई घटाउने अवसर दिन्छ । यहि अवसरलाई केही लगानीकर्ताहरुको गलत बुझाइले गर्दा लगानीको क्षतिका रुपमा लिएको पाइन्छ । लगानीको लागत खरिद मूूल्यअनुसार एकै लगानीकर्ताको पनि फरक हुनसक्छ ।
 
तर, कारोबारीले अल्पकालीन अवधि र लगानीचक्रका आधारमा पुँजीगत लाभ वा हानीको भागिदार हुने हुँदा उसले भने लगानी सुरक्षाका लागि आफूसँग उपलब्ध शेयर बिक्री गरेर पुनः सस्तोमा किन्नसक्छ । 
 
शेयरमा लगानीका केही पक्षहरु
१. शेयर बजार निकै चलायमान हुन्छ र क्षण–क्षणमा तलमाथि भइरहन्छ । दोस्रो बजारमा एउटै कम्पनीको शेयरको मूल्य प्रत्येक कारोबारमा फरक हुनसक्छ । यो भनेको प्रत्येक शेयरमा गरिने लगानीको लागत फरक हुन्छ ।
 
२. शेयरबजारको सुन्दर पक्ष भनेको मूल्यको उतारचढाव हो । यसले लगानीकर्तालाई लगानी व्यवस्थापनको अवसर र कारोवारीलाई पुँजीगत लाभको अवसर सिर्जना गर्दछ । लगानीकर्ता र कारोवारीले बजारको चालअनुसारको लगानी रणनीति परिर्वतन गर्दै लगानी र जोखिम व्यवस्थापन गर्नुपर्दछ ।
 
३. बढ्दो बजारमा लगानीकर्ता र कारोवारी दुवैको रणनीति मुनाफा सुरक्षित गर्नु हुनसक्छ भने घट्दो बजारमा लगानीकर्ताका लागि लगानीको औसत लागत घटाउने र कारोवारीका लागि घाटा घटाउने रणनीति लाभदायक हुनसक्छ ।
 
४. औसत लागत घटाउँदा कम्पनीको आधारभूत र वित्तीय पक्षलाई विशेष ध्यान दिनुपर्दछ । 
 
५. लागत घटाउने वा घाटा घटाउने दुवै लगानी व्यवस्थापनमा बजारको चाल परिवर्तनका कारण सिर्जना हुनसक्ने थप जोखिमसँगै लागत गाँसिएको हुन्छ । त्यसलाई ध्यान नदिँदा गलत निर्णय हुनसक्छ ।
 
६. लगानीकर्ताले लाभांश र पुँजीगत लाभ तथा कारोवारीले पुँजीगत लाभ वा हानीलाई विश्लेषण गरेर लगानीको निर्णय र व्यवस्थापन गर्नुपर्दछ ।
(लेखक नेपाली सेयरबजारका जानकार हुन्।)