– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये सिभिल बैंक पनि एउटा हो। यो बैंकमा संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

आधारभूत पक्ष

यो बैंकले ग्राहकलाई डिपोजिट, ट्रान्ज्याक्सन बैंकिङ, रिटेल लोन, एसएमई लोन, माइक्रो बैंकिङ र कर्पोरेट क्रेडिजस्ता सेवासुविधा प्रदान गर्दै आएको छ। केन्द्रीय कार्यालय काठमाण्डौको सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा रहेको यो बैंकको काठमाण्डौ उपत्यकामा ३० र उपत्यकाबाहिर ९६ गरी १२६ शाखा सञ्जाल छन्। 

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सिभिल बैंकले २९ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ९ करोड ६६ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ८ अर्ब ६४ करोड रुपैयाँ बढी रहेको बैंकको रिजर्भमा १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। 

प्रथम त्रैमाससम्म बैंकले ९३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँ, पीई रेसियो १७.९९ गुणा र प्रतिसेयर नेटवर्थ १२६.८८ रुपैयाँ रहेको छ। 
यो बैंकले विगत ८ वर्षमा औसत लाभांश ६.७८ प्रतिशत वितरण गरेको देखिएको छ। गत आर्थिक वर्ष २०७७/७८ का लागि भने सिभिल बैंकले लाभांश घोषणा गरिसकेको छैन। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। 

यो बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल इन्टरमिडिय डिग्रीको वेभ ५ सकिएर ए, बी, सी बन्दै गरेको देखिन्छ। इन्टरमिडियट डिग्रीअन्तर्गत यो बैंकको न्यून मूल्य १२० रुपैयाँदेखि हालसम्म मूल्यलाई रेखाचित्रमा हेर्दा वेभ (१) १९० रुपैयाँ र वेभ (२) मा करेक्सन भएर १६० रुपैयाँ र वेभ (३) जुन सबैभन्दा ठूलो र लामो हुन्छ, जसमा मूल्य उच्च बढोत्तरीका साथ २७५ रुपैयाँ र पुनः वेभ (४) मा करेक्सन भएर २१५ रुपैयाँ आएको देखिन्छ। त्यसपछि वेभ (५) सेयरभाउ बढेर ३२० रुपैयाँसम्म पुगेको देखिन्छ। त्यसपछि सोही डिग्रीको ए, बी र सीअन्तर्गत करेक्सन हुँदै वेभ ‘ए’ मा करेक्सन भएर २३५ रुपैयाँ, वेभ ‘बी’ मा बढोत्तरी भएर २८० रुपैयाँ र हाल हुँदै गरेको करेक्सन वेभ ‘सी’ मा २२२ रुपैयाँसम्म यो बैंकको सेयरमूल्य आउन सक्छ।(मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बैंकको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा २९३ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा २७८ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा २६६ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा २५५ रुपैयाँसम्म र ०.७८ को टेवा २४१ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्ड, एमएसीडी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले तल्लो विन्दुलाई छोएको छ र हरियो क्यान्डल बनेको छ। दुई ब्यान्डको दूरी फराकिलो बनेको छ। यसले अझै सामान्य करेक्सन हुन सक्ने देखिन्छ। 

एमएसीडीअन्तर्गत बियरिस क्रसओभर अझै भ्यालिड छ भने हिस्टोग्रामहरु नेगेभटिभ भएका छन्। तर, छोटा–छोटो हुँदै गएकोले दुई लाइनको दूरी विस्तार कम हुँदै गएको देखिन्छ। यसले निकट भविष्यमा बुलिस क्रसओभरको सम्भावना पनि देखिन्छ। 

आईएसआईअन्तर्गत अहिले ३८.०९ को विन्दुमा रहेको र हुक बनाएको छ। अघिल्लोपटक यो विन्दु २९ को तहमा ४ पटक टेवा लिएर फर्किएको छ। यसले केही समयको सामान्य करेक्सनपछि बढोत्तरी आउने सम्भावना देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ। यो बैंकको पिभट प्वइन्ट आवरली बेसमा बनाइएको छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २६५
  • प्रतिराध २– २७५
  • प्रतिराध ३– २८२

पिभट प्वइन्ट : २५५

घटेमा सर्पोट 

  • सपोर्ट १– २४२ 
  • सपोर्ट २– २३५
  • सपोर्ट ३– २२२

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।