काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १६.३२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २२१७.१९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.६२ अंकले बढेर ४३२.६७ को विन्दुमा पुगेको छ। कारोबार भने हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजारको घटाइ लगभग सकिएको बताउँछन्। ‘किनकि बैंकिङ च्यानलमा पैसा थपिँदै गएको छ, त्यसैले तरलता विस्तारै सहज हुने देखिन्छ’, उनले भने, ‘अब आत्तिएर बेच्नुपर्ने अवस्था छैन।’

बजेट पनि आउन लागेकोले पुँजीबजारका विषयमा केही सम्बोधन हुन सक्ने ढकालको भनाइ छ। ‘हामीले पनि राष्ट्र बैंकलाई ४–१२ क्याप हटाउनुपर्ने र जोखिम भार अनुपात घटाउनुपर्ने सुझाव दिएका छौँ’, उनले भने, ‘हामीलाई आशा छ यस विषयमा राष्ट्र बैंकले सुनुवाइ गर्नेछ।’

अब बजार माथि नै जाने ढकाल बताउँछन्। ‘अब मंसिर–पुस अर्को चुनाव आउने भएकोले बजार सकारात्मक नै हुने देखिन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने आज बजार बढे पनि भोलुम घटेकोले अझै केही दिन बजारको स्थिति हेर्नैपर्ने बताउँछन्। ‘केही दिन बजार सम्हालिएमा बजार माथि नै जान सक्छ’, उनले भने, ‘अहिलेको अवस्थामा अल्पकालीनभन्दा पनि दीर्घकालीन लगानी गर्न उचित हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।

यो दिन जलविद्युत समूह सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.७६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९७ प्रतिशत, विकास बैंक समूहमा १.४१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१५ प्रतिशत, अन्य समूहमा ०.७१ प्रतिशत, लघुवित्त समूहमा ०.५७ प्रतिशत, जीवन बीमा समूहमा ०.७२ प्रतिशत र लगानी समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ।

आज म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ३१ लाख ७३० कित्ता सेयर १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रुपैयाँको कारोबार भएको छ। 

यो दिन एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको सर्वाधिक ४ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अप्पर तामाकोशीको ४ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको आज अरुण काबेली पावरको ४ करोड ४९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ कोड ८१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड २ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ३६ लाख रुपैयाँ, अपी पावरको २ करोड २२ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड २१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १ करोड ९५ लाख रुपैयाँ र युनिभर्सल पावर कम्पनीको १ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने धेरै गुमाउने

आज लक्ष्मी लघुवित्त र अप्पर तामाकोशीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।