काठमाण्डौ । सेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ। 

बजार आज ५.९१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०५६.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.६८ अंकले घटेर ३९५.७५ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की बजारमा प्रोफिट बुकिङ भएको बताउँछन्। ‘कारोबार रकम पनि घट्दो क्रममा छ’, उनले भने, ‘त्यसैले अझै २–३ दिन बजारमा करेक्सन हुन सक्ने देखिन्छ।’

कार्की बजार सकारात्मक हुनेमा आशावादी देखिन्छन्। ‘आयात तथा घरजग्गा कर्जालाई टाइट गरिएको छ, त्यसैले ती क्षेत्रमा हुने लगानी सेयर बजारमा आउन सक्ने देखिन्छ’, उनले भने। 

झन्डै २२०० पुगेको बजारमा करेक्सन आउनु स्वाभाविक भएको सक्रिय लगानीकर्ता विजय गिरी बताउँछन्। ‘राम्रा कम्पनीहरु सस्तो पाउनुका साथै कम्पनीहरुले लाभांश वितरण गर्ने बेला भएकाले लगानी गर्दा राम्रै हुने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहम रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन लगानी समूह ०.६९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा ०.५ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १.४९ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४२ प्रतिशत, विकास बैंक समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१९ प्रतिशत, अन्य समूहमा ०.४२ प्रतिशत, लघुवित्त समूहमा ०.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.६४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ४६ लाख ४० हजार ८४४ कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नागरिक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ४६ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ६८ लाख रुपैयाँ, अपी पावरको ४ करोड ३८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड १६ लाख रुपैयाँ, गुडविल फाइनान्सको ३ करोड ३८ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ३५ लाख रुपैयाँ र फरवार्ड लघुवित्तको ३ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज हिमालयन हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीले बढेर पोजिटिभ सर्किट लागेको छ। 

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीले घटेर नेगेटिभ सर्किट लागेको छ।