काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।
आज बजार ११.५६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३३.५५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.०२ अंकले बढेर ३८०.९२ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ मुनिको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी आज बढे पनि बजार साइडवेजमै चलिरहेको बताउँछिन्। ‘सरकार कस्तो बन्ने भन्ने आधार अझै बनिसकेको छैन’, उनले भनिन्, ‘त्यसैले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बस्दा बजारमा भोलुम आउन सकेको छैन।’
बजारले अबको राजनीति परिदृश्य कुरेको हुन सक्ने तिवारीको अनुमान छ। ‘पुँजीबजारबाट संसदमा प्रतिनिधित्व भएमा बजारमा राम्रै आशा गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले चुनावी परिणामपछि बजारको दिशा तय हुन सक्छ।’
बजार जानकार मुक्ति अर्याल पनि राष्ट्र बैंकले ब्याजदर घटाउनेजस्ता अनौपचारिक समाचार आउँदा बजारमा आज सकारात्मक प्रभाव परेको बताउँछन्। ‘बैंकहरुको सीडी रेसियो घट्नुले बजार बढ्ने केही आधार बन्दै गएको देखिन्छ’, उनले भने, ‘त्यसैले बजारमा विस्तारै सुधार हुँदै जाने देखिन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक १.६९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह १.२७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४४ प्रतिशत, विकास बैंक समूहमा १.११ प्रतिशत, वित्त समूहमा १.१४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०८ प्रतिशत, जलविद्युत समूहमा ०.५८ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत, जीवन बीमा समूहमा ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१८ प्रतिशत, लघुवित्त समूहमा ०.६५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका २५ लाख ६९ हजार २२९ कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको २ करोड ९३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८१ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७० लाख रुपैयाँ, घलेम्दी हाइड्रोको २ करोड ५९ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड ५५ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड २० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड ९८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको १ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago