– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजारमा कारोबारमा आउने जलविद्युत कम्पनीहरुको संख्या बढ्दै गएको छ। 

पछिल्लो समय आईपीओ जारी गर्ने कम्पनीहरुमा धेरैजसो जलविद्युत सेक्टरकै छन्। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने जलविद्युत कम्पनीको संख्या पनि ह्वात्तै बढेको छ। 

हाल दोस्रो बजारमा कारोबार हुने जलविद्युत कम्पनीको संख्या हाल ६८ वटा पुगिसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा अझै थुप्रै जलविद्युत कम्पनीका आईपीओ रहेका छन्। यो परिदृश्यले नेपालको सेयर बजारमा छिट्टै जलविद्युत कम्पनीको संख्या १०० पुग्ने देखिन्छ। 

देशमा विद्युत उत्पादन बढ्नु राम्रो कुरा हो तर उत्पादन बढ्दै जाने खपत नभई खेर जाने स्थिति आएमा ठूलो घाटा हुन सक्ने पुराना लगानीकर्ता राजन तिवारी बताउँछन्। ‘जसका कारण सर्वसाधारणको लगानी जोखिममा पर्न सक्छ’, तिवारीले भने, ‘सरकारले बेलैमा विद्युत खपतको उपाय तथा बैंक र वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई जस्तै बलियो बनाउन जलविद्युत कम्पनीहरुमा पनि पुँजीवृद्धिको योजना ल्याउनुपर्ने देखिन्छ।’

बजार जानकार सरोज भट्टराई सरकार र विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुका लागि बेलैमा कसिलो नीति ल्याउनुपर्ने बताउँछन्। ‘विगतमा भन्दा अहिले सेयर बजारमा कारोबार हुने जलविद्युत कम्पनीहरुको संख्या र सेयर संख्या निकै बढेको छ’, उनले भने, ‘विद्युत उत्पादन बढे पनि खपत गराई नाफा बढाउनका लागि सरकारले न पेट्रोलियम पर्दाथलाई विस्थापन गर्ने गरी आन्तरिक योजना बनाएको छ न त निर्यातका लागि फड्को मार्न सकेको छ। उत्पादन बढ्दै जाने तर खपत नहुनुले विद्युत खेरा जाने अवस्था बढ्दै जाने देखिन्छ।’

तीन वर्षमा जलविद्युत कम्पनीका मालिकहरु प्रमोटर सेयर सर्वसाधारण लगानीकर्तालाई भिडाएर बजारबाट निस्कन पाउने नीतिले गर्दा अब आउने दिनमा जलविद्युत कम्पनीका सेयरले हरेक लगानीकर्तालाई बगाउने भट्टराईको भनाइ छ। ‘यसबाट बच्न लगानीकर्ता आफैँ सचेत हुनुपर्छ’, उनले भने। 

अहिलेको अवस्था हेर्दा जलविद्युत कम्पनीको नाफा थोरैमात्र देखिएको भट्टराई बताउँछन्। ‘यदि सरकारले विद्युत खपतसम्बन्धी तत्कालै नीति नबनाए कम्पनीहरुको नाफा झनै घटेर जाने देखिन्छ’, उनले भने। 

अर्का बजार जानकार मनीष दवाडी धेरैजसो जलविद्युत कम्पनी घाटामा रहेको अवस्थामा थप आईपीओ र हकप्रदको भेल आउँदा लगानीकर्ता सचेत हुनुपर्ने बताउँछन्। ‘सरकारले बेलैमा कसिलो नीति नल्याउँदा इन्साइडर सूचना पाउनेले बेचेर भाग्ने र नयाँ लगानीकर्ता फस्ने निकै जोखिम बढेको छ’, दवाडीले भने। 

जलविद्युत कम्पनी खोलेर बिजुली उत्पादन गर्नुमात्र ठूलो कुरा नभएको दवाडीको भनाइ छ। ‘उत्पादन भएको विद्युत खपत धेरैभन्दा धेरै कसरी गर्न सकिन्छ ? त्यस विषयमा सरकारको ध्यान दिनु जरुरी छ’, उनले भने। 

अब जलविद्युत कम्पनीहरुमा पनि मर्जर वा प्राप्तिको नीति अवलम्बन गरिनुपर्ने दवाडीको सुझाव छ। ‘यो नीति नलिए समग्र जलविद्युत क्षेत्र विकृति बढ्ने र त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्ने निश्चित छ’, दवाडीले भने।