काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत रहेको बताएका छन्।
धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले यस्तो स्पष्ट पारेका हुन्। ‘आगामी आर्थिक वर्षको आय–व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने हुँदै होइन’, उनले भने, ‘सम्पूर्ण ५६ लाख लगानीकर्ता आयकरको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो।’
अर्थमन्त्री महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको पनि बताए। ‘सेयर बजारमा आममानिसको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण रहेको छ। त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ’, उनले भने, ‘५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइमा पुर्याउने छ।’
धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता महतले औँल्याए। सेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले गरे।
‘सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यम धितोपत्र बोर्ड बन्नु हुँदैन’, मन्त्री महतले भने, ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन्, उनीहरुको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो।’
सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्ने मन्त्री महतको भनाइ थियो। ‘कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागज रहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउनेछ’, उनले भने।
सेयर बजारलाई स्वस्थ्य र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने महतले बताए। ‘अर्थ मन्त्रालयबाट कहीँकतै द्विविधा नरहोस्, कसैले भ्रम सिर्जना गर्ने प्रयास नगरुन्। सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन’, उनले भने, ‘तर, सीमित व्यक्तिले मात्रै फाइदा उठाउने, नाम चाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ।’
सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री महतले सुझाव दिए। उनले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए।
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago