काठमाण्डौ । सेयर बजारमा बिहीबार हरियाली छाएको छ।
सेयर धितो कर्जाको सीमा परिमार्जन हुने खबरले लगानीकर्ताको मनोबल बढ्दा आज बजारमा हरियाली छाएको हो। नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.५५ अंकले बढेर ३८८.७२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम बढेर सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ। यो २ महिनापछिकै उच्च हो।
बजार जानकार सरोज भट्टराई सेयर लोनमा १२ करोडको क्यापमा परिमार्जन हुने खबरले नै बजार बढेको बताउँछन्। ‘तर, अधिकारिक रुपमा यसबारे नियामकबाट परिपत्र आइसकेको छैन’, उनले भने।
यद्यपि, चाडपर्वको सिजन सुरु भएकोले यतिबेला लगानीकर्ताहरु सचेत हुनुपर्ने भट्टराईले सुझाव दिए। ‘किनकि विगतलाई हेर्दा चाडपर्वको सिजनमा बजार खासै बढ्न सकेको थिएन’, उनले भने, ‘१२ करोडको सीमामा परिमार्जन भएको खण्डमा दसैँपछि भने बजारले लय समात्छ।’
साना लगानीकर्ताहरु अहिले नै हौसिने अवस्था भने नरहेको भट्टराईको भनाइ छ।
अर्का बजार जानकार सूर्यनारायण पौडेल पनि सेयर लोनमा १२ करोडको सीमा परिमार्जन हुने खबरले नै बजार बढेको बताउँछन्। ‘यद्यपि, ठूला माछा नचलेसम्म समुद्रमा उछाल नआएजस्तै ठूलो पुँजी नआएसम्म बजारले लय समात्ने देखिँदैन’, उनले भने।
अहिले तरलता फालाफाल रहे पनि ब्याजदर अझै घट्न नसकेको अवस्था रहेको पौडेल बताउँछन्। ‘त्यसैले ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने।
बजार यदि २०५० भन्दा माथि गए दसैँअघिसम्म २२०० माथि पुग्न सक्ने पौडेलको अनुमान छ। ‘बजार अब घटेर १८०० भन्दा तल नजाने निश्चितजस्तै भएको छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ५.३१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.३८ अंकले बढ्दा बैंकिङ समूहमा ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४९ प्रतिशत, लगानी समूहमा २.४७ प्रतिशत, जीवन बीमा समूहमा १.६७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८२ प्रतिशत, लघुवित्त समूहमा २.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७६ प्रतिशत, अन्य समूहमा २.३४ प्रतिशत र व्यापार समूहमा ०.३३ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको १० करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ५६ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड ५१ लाख रुपैयाँ, सोल्टीको होटेलको ७ करोड ४७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६ करोड ८२ लाख रुपैयाँ, घोराही सिमेन्टको ६ करोड ४७ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाख रुपैयाँ र अपी पावरको ५ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। नेसनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, ङादी ग्रुप पावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत, बारही हाइड्रोपावर, मैलुङखोला जलविद्युत र अपर सोलु हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। गुडविल फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन अभियान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago