काठमाण्डौ। सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्कासन गर्ने भएको छ। 

हाल कम्पनीको जारी पुँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आईपीओ निष्कासन गर्नेसम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले एक कार्यक्रमका बीच एनएमबि क्यापिटलको कार्यालयमा आज हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिजनेस अफिसर कमलप्रसाद नेपाल तथा फन्ड म्यानेजमेन्ट प्रमुख आशीषराज पाण्डेको समेत उपस्थिति थियो। सोपानका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले उक्त सेयर निष्कासन यसै वर्षभित्रमा नै सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएको समेत जानकारी दिए। 

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ मा अवस्थित लब्ध प्रतिष्ठित गैरआवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्सले आईएसओ, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथा युरोपियन मापदण्डको गुड म्यानुफ्याक्चरिङ प्राक्टिसेस (जीएमपी) अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आर्थिक वर्ष २०७८–७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरु उत्पादन गर्दै आएको छ। 

यो कम्पनीले औषधि व्यवस्था विभागमा ११० वटा औषधिहरुको उत्पादन अनुमतिका लागि आवेदन पेश गरेकोमा हालसम्म ६० वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त भइसकेको र २५ वटा औषधिहरु हाल बजारमा बिक्रीवितरण भइरहेको छ। त्यसैगरी थप ६० वटा औषधिहरु अनुसन्धान तथा विकासको चरणमा रहेका छन्। कम्पनीले आगामी २ वर्षभित्र औषधिको संख्या २०० पुर्याउने लक्ष्य लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताएका छन्।  

यस उद्योगले एन्टिबायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ। यसका साथै आगामी २ वर्षभित्रमा आई एन्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुलसमेत उत्पादन गर्ने योजना बनाएको छ।