चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटेल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरु सार्वजनिक गर्न थालेका छन्। ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन्।

आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो। होटल नचल्दासमेत कोठा सरसफाइ गरिरहनुपर्ने हुन्छ। सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए। ‘यी पाहुना यस वर्ष आउनेछन्’, उनले भने, ‘गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन।’

घिमिरेका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन्। यस वर्ष उनीहरू भ्रमणमा आउनेछन्।

जंगल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दसैँतिहार सौराहा अफर सार्वजनिक गरेका छन्। दुई रात तीन दिनको यो प्याकेजमा एउटा लन्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारु संस्कृति, थारु म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइनेछ। 

होटेल एसोसिएसन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेस्टमा पनि यो प्याकेज घोषणा गरिएको छ। विष्टले भने, ‘हामीले दसैँतिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ।’

बिष्टको प्याकेजमा एक रात दुई दिनको रु. ४ हजार ४४४ पर्दछ। जसमा एक–एकवटा लन्च, डिनर र ब्रेकफास्ट पर्दछन्। यससँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ।

होटेल सेभेनस्टारले दसैँतिहार अफर ४० प्रतिशत छुट गरेको छ। कोठामा यो छुट गरिएको हो। होटेलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए। कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले जानकारी दिए। 

छुटसँगै कार्यक्रम आइरहेका दुवाडी बताउँछन्। उनले भने, ‘कर्पोरेट कार्यक्रम, विवाहसँगै कोठा बुकिङ हुन थालेका छन्।’

भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको दुवाडीको भनाइ छ।

क्षेत्रीय होटेल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन्। उनी भन्छन्, ‘अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौँ।’

राष्ट्रिय रूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पुर्याइदिन थपलियाको आग्रह छ। आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटेल टिक्ने उनी बताउँछिन्। 

सौराहामा ११० होटेल र १०० हाराहारी रेस्टुरेन्ट रहेका छन्।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेस्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए। कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ। उनले भने, ‘जे–जति नोक्सान हामीले व्यहोर्यौँ, अब नहोलाजस्तो लाग्छ।’ 

आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको खतिवडाले जानकारी दिए।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटेलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए। कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ। 

गत वर्षको चैतयता होटेल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटेल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको भट्टराई बताउँछन्। 

चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन्। निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन्। निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो। यो देशकै पर्यटकीय गन्तव्य हो।

- RSS