काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर असार ९ गतेदेखि बिक्री खुला हुने भएको छ।

कम्पनीको १०ः६ (१० सेयरबराबर ६ नयाँ सेयर) अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुला हुने भएको छ। यो हकप्रदमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। 

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २७ गतेदेखि बुकक्लोज गरेको थियो। यसको अर्थ माघ २६ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले २०७६ फागुन २२ गतेदेखि हकप्रद निष्कासन निश्कासन गरेको थियो ।

हकप्रदमा चैत १२ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । तर चैत १० गते अहिलेको विषम परिस्थितिलाई लिएर नेपाल सरकारबाट आएको आह्वान समेतलाई मध्यनजर राखी तथा कम्पनीको प्रकाशित विवरणको दफा ‘र’मा भएको व्यवस्थाअनुसार हकप्रद निश्कासनका लागि दरखास्त दिने म्याद चैत २७ गते बैंकिङ समयसम्म थप गरिएको थियो। 

तर, सरकारले ११ गतेदेखि कोरोना भाइरसको संभावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा रोक लगाउने थप अवधिको घोषणा गरेपछि लगानीकर्ताको हितलाई मध्यनजर गरी परिस्थिति सहज भएपश्चात आवश्यकता हेरी नियामन निकायको स्वीकृतिलाई हकप्रदमा आवेदन लिने प्रक्रिया पुनः खुलाइने कम्पनीले प्रष्ट्याएको थियो।