काठमाण्डौ । सनराइज बैंक लिमिटेडले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–११ हेलुमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। योसहित बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ७१ पुगेको छ।

हेलुको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बैंकले युवराज अर्याललार्ई नियुक्त गरेको छ। यो सेवाको शुभारम्भ शनिबार एक कार्यक्रमबीच प्रमुख अतिथि पुतलीबजार नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष भवानीप्रसाद लामिछानेको उपस्थितिमा गरिएको थियो। कार्यक्रममा भिरकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल र भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदीशप्रसाद कोइरालासमेतको उपस्थिति थियो। 

कार्यक्रममा सन्राइज बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेल, वालिङ शाखाका शाखा प्रवन्धक ध्रुवप्रसाद लम्साल र अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो। 

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरिएको बैंकले जनाएको छ।

हालसम्म बैंकले १३९ वटा शाखा, ७१ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।